१६ असार, काठमाडौं । असारे गीत घन्कियो, नेताहरू धान रोप्न खेत पसे । तर, यता किसानहरू भने मलको अभावमा छटपटिरहेका छन् । यस वर्षको धान दिवस पनि गत वर्षहरूको जस्तै विरोधाभासपूर्ण भयो ।
देशभरि आइतबार राष्ट्रिय धान दिवस उत्सवका साथ मनाइयो । राष्ट्रपति, मन्त्री, प्रदेशका मुख्यमन्त्री, अन्य सरकारी निकायका पदाधिकारी, राजनीतिक दलका नेताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू धान दिवसको दिन खेतमा उत्रिएर धान रोप्दै फोटो सेसनमा व्यस्त देखिए । राजधानीदेखि जिल्ला र स्थानीय तहका बजारदेखि खेतसम्म धान दिवसको चहलपहल देखियो । गाउँको जमिन बाँझो छाडेर सहरमा गमला र कौसीमा धान दिवस मनाएको दृश्य पनि देखियो ।
तर, अर्कातर्फ आफूलाई कृषि पेसामै समर्पित गरेका वास्तविक किसान भने समयमा मल नपाएर रोपाइँ नै ढिला गर्नुपरेको दुखेसो पोख्छन् । समयमै रोपाइँ गर्न नसक्दा अन्न उत्पादनमै असर पर्ने सिरहाका किसान अमिरलाल यादवको गुनासो छ । धान दिवसमा नेताहरूले किसानको पीडा नबुझेर स्टन्ट देखाउन फोटो सेसन गरेको उनको भनाइ छ ।
‘धान दिवसमा नेताहरू खेतमा झरेका त देख्यौँ । तर, हामीलाई मल चाहिएको बेलामा पाइएको छैन । मल र सिँचाइ सुविधा नहुँदा सिरहामा हालसम्म ६ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ,’ उनी भन्छन्, ‘तर, किसानहरूको समस्या न त स्थानीय सरकारले बुझेको छ । न त संघ सरकारले । कतिपय किसानहरू स्थानीय स्तरमै महँगो मूल्य तिरेर मल खरिद गर्न बाध्य छन् ।’ नेपालमा २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आइएको छ । यसलाई किसानको सम्मान, कृषिका प्रवद्र्धन तथा खाद्य सुरक्षाका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिन्छ ।
तर, बर्सेनि मल, बिउ र सिँचाइको समस्या दोहोरिइरहँदा यो दिवस देखावटी उत्सव र नेताहरूलाई फोटो सेसन मात्र भएको किसानहरूको गुनासो छ । यता, कृषि मन्त्रालय भने मल आपूर्ति भइरहेको दाबी गर्छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि मल र सिँचाइको व्यवस्था गरेर उत्पादन बढाउने घोषणा गरेको छ ।
तर, किसान भने सरकारको कुरा र काम गराइमा आकाश–जमिनको फरक भएको गुनासो गर्दै आएका छन् । रासायनिक मल आपूर्तिमा असहज हुने र समय र पैसा पनि बढी लाग्ने भएकाले सरकारले स्थानीय स्तरमा प्रांगारिक मल उत्पादन सुरु गर्नुपर्नेमा किसानहरूको जोड छ । धान दिवसमा नेताहरूको खेत पस्ने गतिविधिलाई किसानहरूले प्रचारमुखी मात्र भएको भन्दै आलोचना गर्दै आएका छन् । यादव भन्छन्, ‘धान दिवस मनाउनु ठिक हो । तर, त्यो किसानको वास्तविक समस्या समाधान नगरेर फोटो खिचाउने कार्यक्रम मात्र बनेको छ । त्यसैले यसको कुनै अर्थ र महत्व छैन ।
यसरी एक दिने किसानलाई धान दिवसको रौनकले छोपिरहँदा मल र सिँचाइको अभावले किसानको अनुहार भने मलिन छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउन यस्ता मौसमी कार्यक्रमभन्दा बढी दीर्घकालीन नीतिगत र व्यावहारिक सुधार रहेको विज्ञहरू बताउँछन् ।


+ There are no comments
Add yours