गोदावरी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

१६ असार, ललितपुर । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकामा गत मंगलबारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले संयुक्त रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख महर्जनले शिक्षा, स्वास्थ्य, प्रविधि, वातावरण संरक्षण, कृषि विकास र समावेशी सहभागितामूलक सुशासनलाई शीर्ष प्राथमिकता दिएको जानकारी दिए ।

नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूको सहभागितामा प्रस्तुत उक्त कार्ययोजनाले स्थानीय आवश्यकता, जलवायु संकट, सामाजिक समावेशिता र दिगो विकास लक्ष्यलाई जोड दिएको देखिन्छ ।

शिक्षाको क्षेत्रमा नगरले बालमैत्री, समावेशी र प्रविधिमैत्री शिक्षाको विकास गर्ने स्पष्ट योजना अघि सारेको छ । सबै बालबालिकाका लागि पूर्वतयारी कार्यक्रम, अपांगता भएका बालबालिकाको लागि पहुँचयुक्त शिक्षा, कक्षा ८ सम्मको निःशुल्क शिक्षामा जोड, शिक्षक क्षमता अभिवृद्धि, विद्यालय स्तरोन्नति, प्रविधि प्रयोग तथा स्थानीय स्रोतको उपयोगमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।

स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ । कार्यक्रमबारे बोल्दै उपप्रमुख अधिकारी भने ‘स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो । सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।’
नगरमा डिजिटल सेवा प्रणाली बलियो पार्दै भवन स्वीकृति, कर प्रणाली, सामाजिक सुरक्षा र सेवा प्रवाहमा एकीकृत अनलाइन प्रणाली लागू गरिने भएको छ । साथै विद्युत् लेखाजोखा, नागरिक विवरण अद्यावधिक र गुनासो सुन्ने व्यवस्था समेत डिजिटल बनाइने भएको छ ।

कृषिमा बाली चक्र परिवर्तन, उन्नत बीउ वितरण, कृषि ऋण, कृषक परिचयपत्र, स्थानीय उत्पादनको बजारीकरण, सहकारीसँग साझेदारीजस्ता कार्यक्रमहरु संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले जैविक कृषि, ग्रीनहाउस प्रविधि, टनेल खेती, कृषि तालिम तथा महिला कृषकलाई विशेष प्राथमिकता दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours