इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगलागी, कम्तीमा ३० जनाको मृत्यु, २५ घाइते

१० मंसिर, कायरो । इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयले बुधबार घटनाबारे जानकारी दिएको हो।

कायरोको गिजा प्रान्तस्थित इम्बाबा जिल्लाको वराक क्षेत्रमा रिङरोडमा रहेको सुरुङमाथि उक्त दुर्घटना भएको थियो। पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएपछि आगो लागेको र त्यसले आसपासका सवारीसाधनमा समेत फैलिएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाडी अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किँदै पल्टिएको थियो। त्यसपछि विस्फोटसहित आगलागी भएको थियो। आगो नियन्त्रणमा लिइसकिएको छ।

घटनामा २७ वटा सवारीसाधन जलेर नष्ट भएको इजिप्टको अभियोजन कार्यालयले जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। मृतकको पहिचान खुलाउन उनीहरूको शवबाट डीएनए नमुना संकलन गर्न पनि आदेश दिइएको छ।

घटनास्थलमा उद्धार तथा उपचारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री मुस्तफा मदबुलीले पनि मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्ने आदेश दिएका छन्।

स्वास्थ्य मन्त्रालयले घटनाको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र सम्बन्धित निकायसँग समन्वय गरी घाइतेहरूलाई आवश्यक उपचार उपलब्ध गराइरहेको जनाएको छ।

कायरोको रिङरोड राजधानी र आसपासका प्रमुख राजमार्ग तथा कायरो, गिजा र कल्युबिया प्रान्तलाई जोड्ने व्यस्त सडक हो। दुर्घटनाका कारण उक्त क्षेत्रमा ठूलो क्षति भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours