प्रधानमन्त्री ओली उच्च गतिको रेल चढेर म्याड्रिडबाट सेभिया जाँदै

१५ असार, बार्सिलोना। नेपालमा रेलमार्गको सपना देखाएका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको अत्याधुनिक उच्च गतिको रेल चढेर म्याड्रिडबाट सेभियातर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री आज स्थानीय समय अनुसार दिउँसो १ बजे म्याड्रिडबाट रेल चढेर अपराह्न ३:४५ बजे सेभिया पुग्ने कार्यक्रम छ ।

स्पेनका लागि नेपाली राजदूत शनील नेपालले दिएको जानकारीअनुसार केही बेरमै प्रधानमन्त्रीको रेलयात्रा सुरु हुँदैछ। शनिबार राति प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौँबाट कतारको दोहा हुँदै म्याड्रिड आइपुगेका हुन् ।

म्याड्रिडस्थित अडोल्फो सौरेज बराजास अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा तथा स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

म्याड्रिड र सेभिया बीचको दूरी करिब ५३० किलोमिटर छ । स्पेनको उच्च गतिको रेलमार्ग प्रयोग गर्दा यो दूरी करिब २ घण्टा ४५ मिनेटमा तय गर्न सकिन्छ। यो द्रुत, सुरक्षित र भरपर्दो रेलसेवा स्पेनको आधुनिक पूर्वाधारको प्रतीक मानिन्छ।

सेभियाको तापक्रम अहिले ४३ डिग्री सेल्सियस पुगेको छ। दक्षिणी स्पेन अहिले वर्षकै सबैभन्दा चर्को गर्मी छ ।जसमा सेभिया अग्रस्थानमा छ ।

प्रधानमन्त्री सहित २७ जनाको टोली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त सम्मेलनमा सहभागी हुन सेभिया प्रस्थान गर्न लागेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours