यसपटक एसईई परीक्षाको नतिजा कहिले

१२ असार, काठमाडौँ । यसपटक माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा नियमित तालिकाभन्दा ढिलो प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

बोर्डको परीक्षा क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै १० दिनजति ढिलो हुने बोर्डले जनाएको छ।

“नतिजा प्रशोधनको विषय प्राविधिक पक्ष भएकाले धेरै हतारो गर्ने भन्ने हुँदैन। ८ देखि १० दिन ढिलो हुने देखिन्छ,” बोर्ड अध्यक्ष महाश्रम शर्मा भन्छन्। “अबको एक सातामा नतिजा सार्वजनिक हुनसक्छ।”

बोर्डकै कक्षा १० तर्फका परीक्षा नियन्त्रक गणेश भट्टराई “शिक्षक आन्दोलनका कारण बोर्डको तालिका ३२ दिन पर सरेको” भन्दै ढिलोमा असार अन्तिम सातासम्ममा नतिजा सार्वजनिक हुने आफूहरूको आशा रहेको बताउँछन्।

तीन महिनाअघि भएको कक्षा १० को यस परीक्षामा अघिल्लो वर्षभन्दा करिब ५० हजार थप, ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी थिए।

आन्दोलनको छायामा परीक्षा

विद्यालय शिक्षा ऐन जारी गर्नेसहितका कैयौँ मागसहित देशभरका शिक्षकहरू एक महिनाको आन्दोलनमा उत्रिएपछि बैशाख १७ गते सरकारसँग सहमतिमा पुगेका थिए।

असार १५ गतेभित्र सो ऐन ल्याइसकिने उतिबेलाको सहमति रहे तापनि त्यसको भविष्य अझै अनिश्चित देखिन्छ।

चैत १९ मा परीक्षा सकिसक्दा पनि त्यसपछिको झण्डै एक महिना उत्तरपुस्तिका जाँचको काम सुरु हुन नसकेपछि कर्मचारीहरूलाई खटाउने चर्चा समेत चलेका थिए।

तर बोर्डले उत्तरपुस्तिका जाँचमा शिक्षकबाहेक अरूको कुनै संलग्नता नरहेको जनाएको छ।

“जाँच्ने काम शिक्षकहरूबाट मात्र भएको छ। अरू कसैलाई त्यसमा लगाइएको छैन। बोर्डले त्यसो गर्न सम्भव पनि छैन,” राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले थपे।

परीक्षा नियन्त्रक भट्टराईले उत्तरपुस्तिका जाँच्ने काम पूरा भइसकेर यतिखेर अङ्क प्रशोधनको काम भइरहेको बताए।

“जाँच भएका उत्तरपुस्तिका आइसकेपछि नतिजा प्रकाशन गर्नसम्म बोर्डलाई चाहिने समय ३५ दिन हो,” उनले भने।

“तर यसपटक पहिल्यै ढिलो भएकाले हामीले दोहोरो सिफ्टसम्म काम गर्दै यस समयलाई जति सकिन्छ त्यति घटाउने प्रयास गरिरहेका छौँ। हाम्रो जोडबल विद्यार्थीलाई अप्ठेरो नपर्नेगरी छिटै नतिजा सार्वजनिक गर्ने छ।”

‘धेरै उत्तीर्ण हुने’ प्रधानमन्त्रीको अभिव्यक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले काठामाण्डू विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा हालै यस वर्ष एसईईमा ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने आशा गरिएको बताएका थिए।

गत वर्षको नतिजामा ४८ प्रतिशत उत्तीर्णदर देखिएपछि त्यसबेलादेखि नै ओलीले ‘७० प्रतिशत उत्तीर्ण गराउनेगरी काम गरिने’ बताउँदै आएका थिए।

बोर्ड अध्यक्ष शर्मा भन्छन्: “वहाँको त्यस भनाइ त्यही अपेक्षा र त्यसका लागि गरिएका केही प्रयासका आधारमा आएको हुनुपर्छ। तर नतिजा र त्यस भनाइको केही प्रत्यक्ष सम्बन्ध रहँदैन।”

गतवर्षको नतिजापछि बोर्डकै नेतृत्वमा पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसहितको एक विज्ञ समिति बनाएर पालिकास्तरमा नतिजाको विश्लेषण गर्दै विषयगत समस्याहरू देखा परेका ठाउँमा सजग गराउँदै केही सुधारका प्रयासहरू गरिएको शर्मा बताउँछन्।

“त्यस सिफारिसकै आधारमा पालिका र विद्यालयहरूले आफ्नै तवरले केही काम गरे भने अनलाइन कक्षाहरूमा समेत त्यसैगरी अग्रसरता लिइयो। सायद प्रधानमन्त्रीज्यूको अपेक्षा त्यसकै आधारमा सद्भावका भरमा आएको हुनुपर्छ,” अध्यक्ष शर्माले भने।

“तर नतिजा केस्तो हुन्छ भन्ने कुरा त्यो आउनेबेला मात्रै थाहा हुन्छ।”

एसईईमा सहभागी विद्यार्थीहरू
तस्बिरको क्याप्शन,फाइल तस्बिर

गत वर्षको नतिजामा अनिवार्य विषयतर्फ सबैभन्दा धेरै विद्यार्थी गणितमा ‘ननग्रेडेड’ भएका थिए भने त्यसपछि विज्ञान तथा प्रविधि र अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएका थिए।

यी तीनवटै विषयमा अनुत्तीर्ण सरह मानिने ‘ननग्रेडेड’ भएका विद्यार्थीहरूको सङ्ख्या एक लाखभन्दा धेरै थियो।

ढिलो हुँदा कक्षा ११ को भर्ना प्रभावित हुन्छ?

एसईईको नतिजा हेर्दै

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले एक दुई साता एसईईको नतिजा ढिलो हुँदैमा कक्षा ११ को तालिका र भर्ना प्रभावित नहुने जनाएको छ।

कानुनी व्यवस्था अनुसार साउन १५ सम्ममा विद्यार्थी भर्ना भइसक्ने मिति भए तापनि साउन महिनाभर भर्ना भइरहने अवस्था रहने र सोही अनुसार कक्षाहरू सञ्चालन हुने हिसानका अध्यक्ष रमेश सिलवाल बताउँछन्।

“त्यसले गर्दा ११ कक्षामा भर्नाका लागि १५ दिन समय राख्दा समेत अप्ठ्यारो परिहाल्दैन। कक्षा १२ को परीक्षा नियमित रूपमा सुरु नै भइसकेको छ,” सिलवाल भन्छन्।

“निजी कलेजहरूले साउनको पहिलो साताबाटै कक्षा सुरु गर्ने गरे तापनि हाम्रो शिक्षा ऐनले साउन १५ गतेको सीमा राखेको छ।”

तर नेपालमा कक्षा ११ का भर्ना तीन चरणमा हुने गरेको व्यवहारिक परिदृश्य रहेको सिलवाल बताउँछन्।

निकै प्रतिस्पर्धी हुने केही विद्यालयको प्रवेश परीक्षा सकिएपछि मात्र दोस्रो चरणमा धेरै विद्यार्थीहरू अन्य विद्यालय भर्ना हुने गरेको भन्दै उनले त्यो क्रम साउन महिनाभर चल्ने बताउँछन्।

“त्यसबाहेक मौका परीक्षा सकेर हजारौँ विद्यार्थीहरू दशैँ आसपाससम्मै भर्ना भइरहेका समेत पाइन्छन्। तिनलाई अतिरिक्त कक्षाहरू सहितका प्रयासले सन्तुलन मिलाइन्छ,” सिलवाल भन्छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours