११ असार, काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार जुन गत आर्थिक वर्षको सो अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
नेपालबाट भने ११ महिनामा जम्मा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात भएको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको मात्र निर्यात भएको थियो ।
कुन–कुन वस्तु तथा सामान आयात ?
११ महिनामा सबैभन्दा धेरै डिजेल आयात भएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँको १३ लाख १२ हजार ९०५ किलोलिटर डिजेल आयात छ ।
दोस्रो नम्बरमा कच्चा सोयाबिन तेल आयात भएको छ । ६३ अर्ब ३ करोड लिटर बराबरको कच्चा सोयाबिन तेल आयात हुँदा ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बाहिरिएिको छ ।
त्यस्तै पेट्रोल पनि अत्यधिक मात्रामा आयात भएको छ । ६ करोड ८१ लाख किलोलिटर पेट्रोल आयात गर्दा ५८ अर्ब ५८ करोड ९० लाख ८४ हजार रुपैयाँ बिदेसिएको छ ।
त्यस्तै, एलपी ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख ५९ हजार रुपैयाँ बराबरको आयात भएको छ भने फलामबाट तयारी वस्तु ४५ अर्ब ७१ करोड ४७ लाख ९२ हजार रुपैयाँको आयात भएको छ ।
त्यसैगरी, सो अवधिमा १९ लाख ७५ हजार ५१३ वटा स्मार्टफोन आयात भएको छ । उक्त संख्यामा स्मार्टफोन आयात हुँदा ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँ रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।
यस्तै, आइरन/स्टिल ३० अर्ब ५० करोड २१ लाख ८३ हजार रुपैयाँको आयात भएको छ भने अन्य औषधिजन्य सामग्री आयात गर्दा २७ अर्ब ९२ करोड ९० लाख ३४ हजार रुपैयाँ बाहिरिएको छ । कच्चा सूर्यमुखी फूल तेल २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
निर्यात के–के भयो ?
११ महिनामा सबैभन्दा धेरै सोयाबिन तेलको निर्यात भएको छ । सो अवधिमा ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । सूर्यमुखी फूलको तेल ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँको निर्यात भएको छ ।
त्यस्तै, ९ अर्ब ७८ करोड १० लाख १८ हजार रुपैयाँको कार्पेट, ७ अर्ब १९ करोड ७ लाख ४२ हजार रुपैयाँ बराबरको अलैँची विभिन्न देशमा निर्यात भएको छ । रोल्ड आइरन/स्टिल ५ अर्ब १३ करोड ८ लाख ३१ हजार रुपैयाँको निर्यात भएको हो ।
त्यसैगरी, ५ अर्ब १० करोड ३२ लाख २५ हजार रुपैयाँको बुनेका कपडा बाहिरिएको छ भने ५ अर्ब ७ करोड ३ लाख ८७ हजार रुपैयाँ बराबरको फाइबर निर्यात भएको छ ।
नेपालबाट विभिन्न फलफूलका रसहरूको मिश्रण पनि निर्यात हुन्छ । चालु आवको ११ महिनामा ४ अर्ब ९४ करोड ३३ लाख ३९ हजार रुपैयाँको फलफूलका रसहरूको मिश्रण निर्यात भएको छ ।
त्यस्तै, विभिन्न थरीका धागो पनि ४ अर्ब ६४ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने विभिन्न मुलुकमा कुकुर बिरालोको खाना ३ अर्ब ९९ करोड २४ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ ।


+ There are no comments
Add yours