वाम लेखकले गरे इरानमाथि अमेरिकी हमलाको विरोध

०९ असार, काठमाडौं । वामपन्थी लेखक तथा विश्लेषकहरूले इरानमाथि अमेरिकाले गरेको हमलाविरुद्ध निन्दा व्यक्त गरेका छन् ।

उनीहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानका विभिन्न ठाउँमा अमेरिकाले गरेको आक्रमण सार्वभौमसत्ता र आत्मनिर्णयको अकारमाथि धावा बोलेको टिप्पणी गरेका हुन् ।

‘आईएईएको प्रत्यक्ष निगरानीमा शान्तिपूर्ण उपयोगका लागि अघि बढाइएको आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको यो आक्रमणले इरानको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथि धावा बोलेका छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो १९औँ शताब्दिको आखिरीबाटै अमेरिकाले लिएको साम्राज्यवादी हस्तक्षेपको नीतिको निरन्तरता हो ।’

अमेरिकाले संसारलाई आफ्नो नियन्त्रणमा राख्न चाहेको, राजनीतिक आर्थिक तथा साम्राज्यवादी आकांक्षाप्रति असहमत हुने कुनै देशमाथि बर्बर आक्रमण गर्ने गरेको, नरसंहार मच्चाउने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

सत्ता परिवर्तन गराउने र उक्त देशको स्रोत साधनमाथि नियन्त्रण गर्ने अमेरिकीहरुको परम्परा यसअघि नै रहिआएको विज्ञप्तिमा जनाइएको छ ।

‘यसअघि इराक, सिरिया, लिविया, अफगानिस्तान, प्यालेष्टाइन र लेवनानमा अमेरिका र उसको सैन्य आकाँक्षाका सहयात्रीहरु तथा इजरायलले गरेका बर्बर आक्रमणले ती देशमा निम्त्याएको सर्वनाश र गाजाको नरशंहार मानव सभ्यताकै कलंकका रुपमा दर्ज छन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला इजरायल आफूले गाजामा गरिरहेको महिला तथा बालबालिकको नरशंहारबाट ध्यान हटाउन इरानमा आक्रमण गरिरहेको छ र अमेरिका उसलाई सहयोग गर्दै आफ्नो खस्कदों विश्व प्रभुत्वलाई टिकाउने प्रयासमा लागेको छ ।’

अमेरिका–इजराय–नेटो गठबन्धनको यो मानवताविरोधी, साना र कमजोर देशको आत्मनिर्णय र सावैभौमसत्ता निषेध गर्ने हर्कतको उनीहरू घोर निन्दा र भर्त्सना गरेका छन् ।

‘इजरायली–अमेरिकी आक्रमणको यो शिलशिलाले पश्चिम एशियालाई थप द्वन्द्वमा धकेल्ने निश्चित छ,’ लेखक तथा विश्लेषकले जारी विज्ञप्तिमा भनिएको छ, ‘खाडी क्षेत्रका देशहरुबाट हुने खनिज तेल र ग्याँसको निर्यातमा अवरोध पुर्‍याउने र विश्वभर आर्थिक अनिश्चितता सिर्जना गर्ने सम्भावना बढाइदिएको छ ।’

सबै साना ठुला देशलाई आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने अधिकार छ भन्ने पक्षमा आफूहरू रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति जारी गर्नेहरूमा प्राध्यापक कृष्ण पोखरेल, राम कार्की, रामराज रेग्मी, कोमल भट्टराई, नरेन्द्रजंग पिटर, अशेष घिमिरे, कृष्ण सुनवार, प्रकाश अजात, खगेन्द्र संग्रौला, हरि रोका, झलक सुवेदी, युग पाठक, सोमत घिमिरे, राजेन्द्र महर्जन, उषा तिम्सिेना, शिव कुमार पौडेल, गोपिरमण उपाध्याय, कुमार पौडेल, अरविन्द सिंह रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours