बालुवाटारतर्फ जान खोज्दा राजावादी प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते, कमल थापा पक्राउ

१८ जेठ, काठमाडाैँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आइतबार जारी प्रदर्शनले उग्र रुप लिँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित अन्य प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

नक्शाल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनमा सहभागी राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग दोहोरो झडप र हानाहानको स्थिति सिर्जना भएको हो।

केही प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

झडपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीसँगै अन्य थुप्रै प्रदर्शनकारी पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूको यकिन संख्या भने खुलिसकेको छैन। झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएको प्रारम्भिक जानकारी आएको छ।

विभिन्न राजावादी समूहहरूले संयुक्त रूपमा आह्वान गरेको आजको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरू सहभागी थिए। उनीहरूले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा चर्का नाराबाजी गरेका थिए। स्थितिलाई थप बिग्रन नदिन उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र यातायातसमेत प्रभावित भएको छ।

प्रहरीले शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गरिएको जनाएको छ। राप्रपा नेपालले भने आफ्ना अध्यक्ष तथा कार्यकर्ताहरूको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल रिहाइको माग गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours