११ जेठ, जोमसोम । उपल्लो मुस्ताङको लोमान्थाङमा शनिबारदेखि तिजी पर्व सुरु भएको छ । उपल्लो मुस्ताङमा बसोबास गर्ने लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी लोमान्थाङमा तीन दिनसम्म चल्नेछ ।
पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङमा सुरु भएको उपल्लो मुस्ताङको धार्मिक तथा संस्कृतिक पर्व तिजी हालसम्म पनि जीवन्त छ । संघीयतापछि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आर्थिक साझेदारी गरी तिजी पर्वलाई संरक्षणमा योगदान पुर्याउँदै आइरहेका छन् । लोमान्थाङस्थित छोदे गुम्बाका लामाहरूले तिजी पर्वलाई व्यवस्थापन गर्ने गरेका छन् । तिजी पर्व उपल्लो मुस्ताङको सबैभन्दा महत्वपूर्ण र जीवन्त संस्कृति हो । तिब्बती कलासंस्कृति झल्किने यसप्रकारको तिजी पर्वलाई विदेशी पर्यटकले निकै अभिरुचिपूर्वक अवलोकन गर्ने गर्छन् ।
तिजी पर्व एक धार्मिक पूजा हो । पहिला पहिला तिजीमा उपल्लो मुस्ताङका नागरिकहरूले लगातार चारदिनसम्म गुम्बा र छोर्तेनहरूमा धार्मिक अनुष्ठान गर्ने गर्दथे । उपल्लो मुस्ताङमा शान्ति छाओस्, रोग, व्याधि नलागोस, प्रकृतिले सधैं उपल्लो मुस्ताङका नागरिकहरूको दैनिक क्रियाकलाप साथ दिओस् भन्ने कामना गर्दै लामा पूजा गरिन्छ ।
उपल्लो मुस्ताङको तिजी पर्व पछिल्लो समय पर्वका रूपमा मनाउन थालिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
१५औं शताब्दीदेखि उपल्लो मुस्ताङमा सुरु भएको उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व तिजी हालसम्म पनि जीवन्त छ।
तिजी पर्व उपल्लो मुस्ताङको सबैभन्दा महत्वपूर्ण र जीवन्त संस्कृति हो।
तिजी पर्वमा बज्रकिलया र महाकालको नृत्य अभ्यास देखाइने प्रचलन रहेको लोमान्थाङका आम्ची घ्याचो विष्टले जानकारी दिए । तिजी पर्वमा बज्रकिलया र महाकालको ५४ प्रकारका नृत्य प्रस्तुत हुने आम्ची विष्टको भनाइ छ । लोमान्थाङमा तिजी पर्व अवलोकनका लागि विदेशी पर्यटकको उपस्थिति बाक्लो रहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । लोमान्थाङमा पछिल्लो एक हप्तामा ५०२ जना विदेशी पर्यटकको उपस्थिति रहेको उनले बताए ।
‘लोमान्थाङमा तिजी हेर्न आएका पर्यटकले उपल्लो मुस्ताङ गुल्जार बनेको छ, यहाँका सबै होटलहरू विदेशी पर्यटकले भरिभराउ छ’ कार्यालय प्रमुख पौडेलले भने, ‘कतिपयले होटलमा बास नपाएर टेन्ट टाँगेर बसेका छन्, तिनदिनसम्म यहाँका होटलहरूमा विदेशी पर्यटकले रहने छन् ।’


+ There are no comments
Add yours