सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन अटेर गर्ने ११ कम्पनी कारबाहीमा

०५ जेठ, काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन अटेर गर्ने कम्पनीलाई कारबाही गरेको छ । सेबोनले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशन पालना नगर्ने ११ कम्पनीलाई कारबाही गरेको हो ।

बोर्डले २५ वैशाखको निर्णयअनुसार उक्त कम्पनीहरुलाई कारबाही गरेको जानकारी दिएको छ । धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा ब्लुचिप सेक्युरिटिज लि, प्रोपर्टी विजार्ड लि स्टक्सकार्टस् सेक्युरिटिज लि,सुमेरु सेक्युरिटिज प्रालि, रोड्शो सेक्युरिटिज रहेका छन् ।

यस्तै बोर्डले सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी लि, एलिट मर्चेन्ट क्यापिटल लि, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लि र रिलायबल भेन्चर क्यापिटललाई पनि कारबाही गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐनबमोजिम सूचक संस्थाले सम्पादन गरेका कार्यहरूको अर्धवार्षिक प्रतिवेदन सो अवधि व्यतित भएको १५ दिनभित्र विवरण बोर्डमा पठाउनुपर्ने प्रावधान रहेको छ । १५ दिनभित्र प्रतिवेदन नबुझाउने कम्पनी कारबाहीमा परेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours