बैंक-बीमाको बजार पुँंजीकरण हिस्सा खुम्चिदा कुन-कुनको बढ्यो ? ९ महिनामा ५२ अर्बको थप धितोपत्र सूचीकृत

२९ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा पछिल्लो समयमा नयाँ नयाँ क्षेत्रका कम्पनीहरु थपिन थालेपछि बैंक, वित्तीय संस्था र बीमा समूहको बजार पुँंजीकरण हिस्सा घट्दै गएको छ । जलविद्युत, लगानी, व्यापार तथा अन्य समूहको बजार पुँंजीकरणको हिस्सा भने बढ्दै गएको छ। 

सूचीकृत कम्पनीहरुको संख्या बढेसँगै पछिल्लो समयमा जलविद्युत, लगानी, उत्पादन तथा अन्य समूहको हिस्सा थपिंदै गएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा एंवम होटल समूहको बजार पुँंजीकरणको हिस्सा भने घटेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणमा सूचीकृत कम्पनीहमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । गत वर्षको चैतसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको थियो ।

यसैगरी, २०८१ को चैतसम्म जलविद्युतकम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ । 

२०८० को चैतसम्म जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको थियो। 

२०८१ चैत मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छ । ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। 

२०८० चैत मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका रहेका थिए । त्यस्तै, ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका थिए । २०७९ चैतमा भने सूचीकृत कम्पनीहरूको संख्या २४८ रहेको थियो ।

९ महिनामा ५२ अर्बको थप धितोपत्र सूचीकृत, साढे २८ अर्बको निष्काशन अनुमति

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल ५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यस अवधिमा १९ अर्ब ७७ करोड बराबरको बोनस शेयर, १५ अर्ब ४१ करोड बराबरको साधारण शेयर तथा ११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर सूचीकृत भएको हो ।

त्यस्तै १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर सूचीकृत भएको हो । ९ महिनामा कुल ५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

त्यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल २८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यस अवधिमा ११ अर्ब ६० करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब ३७ करोड बराबरको हकप्रद शेयर, ४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र १ अर्ब ७९ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको हो।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ चैत मसान्तमा सूचीकृत ८ अर्ब ७२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५९ अर्ब ४५ करोड रहेको छ । २०८१ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब ४० करोड कायम भएको छ । २०८० चैत मसान्तमा बजार पुँजीकरण ३२ खर्ब १२ अर्ब १ करोड रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours