२८ वैशाख, काठमाडौं । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ एल्बममार्फत पहिलो पटक सार्वजनिक भएको यस गीतमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको स्वर रहेको थियो।
विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको हो। यस संस्करणका शब्द लाल बहादुर योञ्जनका, संगीत भरत योञ्जनको, र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा The Voice of Nepal सिजन १ का फर्स्ट रनर-अप मकर योञ्जनको रहेको छ।
तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्काउने यो गीत Shree Music को आधिकारिक युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।
सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोलाई अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामाङले अभिनयमार्फत जीवन्त बनाएका छन्। पारम्परिक तामाङ पहिरन र सांस्कृतिक दृश्यहरूले भिडियोलाई अझ आकर्षक बनाएको छ।
भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन सुन्दर भोंजनले गरेका हुन्। कोरियोग्राफी युद्ध लामाले, मेकअप छिमी तामाङले, अडियो एरेन्जमेन्ट नोरबु शेर्पाले, मिक्सिङ तथा मास्टरिङ सुमन खड्काले गरेका छन्। स्टुडियो पर्पल स्टुडियो र पोस्ट–प्रोडक्सन Shree Music को रहेको छ।
मौलिकता, प्रेम र सांस्कृतिक पहिचान बोकेको यस गीतलाई नयाँ पुस्तालाई आफ्नो सांगीतिक सम्पदासँग पुनः जोड्ने प्रयासका रूपमा लिइएको छ। श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले तामाङ संगीतको गौरवशाली इतिहास पुनर्जीवित गरेको छ।


+ There are no comments
Add yours