२८ वैशाख, काठमाडौँ । आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन् । सुदूरपश्चिममा हालसम्म ४१ रेडियो स्टेशन बन्द भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा दर्ता भएका १ सय २० एफएम रेडियो स्टेशनमध्ये ४१ बन्द भएको जानकारी दिँदै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले आर्थिक अभावमा २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिननसक्ने परिस्थिति सृजना भएको बताए ।
“विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले समानुपातिक रुपमा विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन”, उनले भने, “अब व्यावसायिक तथा सामुदायिक रेडियोको दिगो आर्थिक व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ । ”
“स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छन्, सरकारी निकायबाट खासै सहयोग छैन , विज्ञापन आउन छोडिसक्यो”, रेडियो सेभेन स्टार बैतडीका सञ्चालक अमर भट्टराईले रासससँग भने ।
रेडियो टिकापुर कैलालिका प्रमुख एकेन्द्र तिमल्सीनाले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार पनि नफस्टाउँदै आम्दानी दिगो स्रोत नहुँदा आफूहरूले सङ्कटको सामना गर्नुपरेको गुनासो गरे ।
रेडियोकर्मी शिव ओलीले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दर निर्धारण गरिनुपर्नेमा जोड दिए ।


+ There are no comments
Add yours