पूर्वाधार विकासका सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री सिंह

१७ वैशाख, काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीको प्रसंग प्रति लक्षित गर्दै उपप्रधानमन्त्री सिंहले पूर्वाधार विकास योजनाबद्ध रूपमा गरिँदै आएको बताएका हुन्।

स्याङ्जाको वालिङमा श्रीमद् भागवत सप्ताह ज्ञान तण्डुलाचल तथा धार्मिक अनुष्ठानको शुभारम्भ गर्दै मन्त्री सिंहले तीन तहको सरकार, जनप्रतिनिधि र नागरिको सहभागितामा विकास प्रभावकारी हुने स्पष्ट पारे ।

नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले समाजलाई व्यवस्थापन गर्न धर्मले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “धर्मले मानिसलाई संस्कार र संस्कृति सिकाउँछ र आफै निर्णय गर्न सक्ने बनाउँछ ।” गर्न हुने र नहुने काम आफैँ छुट्याउन सक्षम बनाउनु धर्मको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।

पछिल्लो समय समाज नकारात्मक भएको तर्फ लक्षित गर्दै मन्त्री सिंहले समाजलाई सकारात्मक बनाउन धर्मको महत्त्वपूर्ण योगदान रहेको स्पष्ट पारे ।

स्याङ्जासँग आफ्नो पुरानो साइनो रहेको भन्दै सिंहले जिल्लाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महायज्ञ शुभारम्भका अवसरमा संघीय सांसद राजु थापाले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताए । जिल्लामा धेरै धार्मिक पर्यटकीय क्षेत्र रहेको भन्दै सांसद थापाले यिनीहरूको संरक्षण र प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै गण्डकी प्रदेश सभाका सांसदहरु सरस्वती तिवारी र महेश भट्टराई पूर्व सांसद मेखलाल श्रेष्ठ, समाजसेवी तथा उद्योगी डोलराज शर्मा पंगेनी, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, खगेन्द्र प्रसाद अर्याल, भूपराज बगाले लगायतले धर्मसंस्कार र महायज्ञको बारेमा बोलेका थिए। स्याङ्जाको वालिङमा रहेको केदारनाथ क्षेत्रलाई शिव धाम निर्माण गर्ने योजनाका साथ वालिङमा महायज्ञ सुरु गरिएको हो ।

योगी नरहरि नाथलेद्वारा नामाकरण गरिएको वालिङ नगरपालिका-८ को केदारनाथ मन्दिरलाई स्तरोन्नति गरी धाम निर्माण गर्ने दीर्घकालीन योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक दिलिपप्रताप खाँणले बताए । सिद्धार्थ राजमार्गसँगै रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आयोजकको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले केदारनाथ मन्दिर तथा प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गह्रौंसुरमा रहेको कालिका मन्दिरको समेत दर्शन गरेका छ । वैशाख २३ गतेसम्म सञ्चालन हुने महायज्ञले वालिङमा केदारनाथ धाम स्थापनाका लागि आधार तयार गर्ने आयोजकको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours