एनआरएन एकता महाधिवेशनको तयारी अन्तिम चरणमा, डेलिगेट्स छनोट तीव्र

०५ वैशाख, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

सदस्यता वितरणको कार्य सकिएपछि हाल प्रतिनिधि (डेलिगेट्स) छनोटमा सचिवालय व्यस्त रहेको छ। प्रचारप्रसार संयोजक रविना थापाका अनुसार, डेलिगेट्स आवेदन दिन चाहनेले अप्रिल २२ (नेपाल समय राति १२ बजेसम्म) सचिवालयको वेबसाइट http://www.nrnahlc.comm मा गएर आवेदन दिन सक्नेछन्।

उनका अनुसार, सदस्यतामा उल्लेखनीय उत्साह देखिएको छ भने हालसम्म करिब १४ सयले डेलिगेट्समा आवेदन दिइसकेको जानकारी दिइएको छ। यी आवेदकका कागजातहरू जाँच गरी निर्वाचन समितिलाई पाँच दिन अगाडि अन्तिम सूची हस्तान्तरण गरिनेछ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिलाई एकता महाधिवेशनको जिम्मेवारी दिइएको हो। उक्त महाधिवेशनमार्फत नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को निर्वाचन हुनेछ।

निर्वाचनका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन भइसकेको छ, जसमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशीष उप्रेती सदस्य छन्। त्यस्तै, संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति समेत गठन गरिएको छ।

महाधिवेशन उद्घाटन कार्यक्रम होटल हायातमा हुने र निर्वाचन कार्यक्रम याक एन्ड यति होटेलमा आयोजना गरिने जानकारी समितिले दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours