‘सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुनु आवश्यक’

३० माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार एसियाली विकास बैंक (एडीबी) र मन्त्रालयको आयोजनामा काठमाडांैमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातबारे भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलब्धीलाई आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताए ।

नेपालको सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिने बताए ।

यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागिता स्वागतयोग्य रहने उनको भनाइ छ ।

यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवं व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने मन्त्री दाहालले बताए ।

यातायात क्षेत्रमा स्वच्छ ऊर्जा तथा इन्धन उपयोगलाई सरकारले प्रोत्साहन गरिरहेको भन्दै उनले यसका लागि चाहिने चार्जिङ स्टेसन, पार्किङ, मर्मत लगायत पनि थप व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले सहरीकरण र सहर विस्तार नियमित प्रक्रिया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताए ।

तर, सहरीकरण विस्तार र विकास व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाइनुपर्नेमा उनले जोड दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours