तुम्लिङले तान्दै छ पर्यटक

११ मंसिर, इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा अवस्थित तुम्लिङ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रोजाइमा पर्दै गएको छ । प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण र पदयात्राका लागि उपयुक्त स्थान भएकाले नेपाल, भारत हुँदै युरोपसम्मका पर्यटक तुम्लिङ पुग्ने गरेका छन् ।

समुद्री सतहबाट दुई हजार ९७० मिटरको उचाइमा रहेको तुम्लिङ गुरुङ समुदायको बाहुल्य भएको रमणीय बस्ती हो । यहाँको मुख्य आकर्षण आँखैअगाडि देखिने कञ्चनजङ्घा हिमशृङ्खला हो । बिहानको सूर्योदयसँगै हिमालमा पर्ने घामको किरण र साँझपख देखिने प्राकृतिक दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

भारतीय सीमामा पर्ने सिंहलीला राष्ट्रिय निकुञ्जको नजिकै रहेकाले तुम्लिङ चराविज्ञ, वन्यजन्तु अध्येता तथा प्रकृतिप्रेमीका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ । जैविक विविधता, प्राकृतिक वनस्पति र चराचुरुङ्गीको अवलोकन गर्न चाहनेका लागि यो क्षेत्र उपयुक्त मानिन्छ ।

नेपालमा सबैभन्दा धेरै हिमशृङ्खला अवलोकन गर्न सकिने पर्यटकीय क्षेत्र सन्दकपुरको पदयात्रामा निस्कने पर्यटकका लागि तुम्लिङ प्रमुख वासस्थान केन्द्रका रूपमा रहेको स्थानीय रत्न थामीले बताउनुभयो । उहाँका अनुसार सन्दकपुर जाने अधिकांश पर्यटक तुम्लिङमा बास बसेर आसपासका प्राकृतिक दृश्यको अवलोकन गर्ने गर्छन् ।

स्थानीय होटेल व्यवसायी केसरी गुरुङ अनुसार भारतीय पर्यटकले सबैभन्दा बढी रुचाउने गन्तव्यमध्ये तुम्लिङ एक हो । विशेष गरी हिमालको दृश्यावलोकन, पदयात्रा र शान्त वातावरणको आनन्द लिन भारतीय पर्यटक यहाँ आउने गरेका छन् । पर्यटकीय मौसममा तुम्लिङका होटेल तथा होमस्टेमा पर्यटकको चहलपहल बढ्ने गरेको उहाँले बताउनुभयो ।

फिक्कल बजारबाट करिब २९ किलोमिटरको दुरीमा रहेको तुम्लिङ नेपाल–भारत सीमाक्षेत्रमा पर्ने मानेभन्ज्याङबाट करिब साढे १० किलोमिटरको यात्रामा पुग्न सकिन्छ । सडक तथा पदमार्ग दुवै माध्यमबाट यहाँ पुग्न सकिने भएकाले पर्यटकका लागि यो क्षेत्र पहुँचयोग्य समेत छ ।

पवित्र जोगमाईखोलाको शिर क्षेत्रमा अवस्थित तुम्लिङको धार्मिक महत्व पनि छ । भारततर्फ सिंहलीला राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्र रहे पनि नेपालतर्फ मानवबस्ती र होटेल व्यवसाय सञ्चालनमा रहेकाले पर्यटकका लागि यहाँ बसोबासको सुविधा उपलब्ध छ । यही सुविधाका कारण सीमापारिबाट आउने पर्यटकसमेत तुम्लिङमा बास बस्न रुचाउँछन् । पर्यटकीय सिजनमा मात्रै तुम्लिङमा ४५ हजारभन्दा बढी पर्यटकले बास बसेका थिए ।

तुम्लिङमा मात्रै सीमित नभई यहाँबाट अगाडि बढ्दा टङ्लु, गुराँसे र मेघमासम्म पुग्न सकिन्छ । विश्वमै धेरै बुद्ध मूर्ति रहेको स्थानका रूपमा परिचित मेघमा पनि पर्यटकको आकर्षणको केन्द्र हो । यी क्षेत्रलाई समेटेर पदयात्रा गर्न सकिने भएकाले तुम्लिङ पूर्वी नेपालको पर्यटन मार्गमा महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको इलामका पर्यटनकर्मी सुजन तिम्सिनाले बताउनुभयो । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक विविधता र पदयात्राको संयोजन रहेको तुम्लिङलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके इलामको पर्यटन प्रवर्धनसँगै स्थानीय रोजगारी र अर्थतन्त्रमा थप टेवा पुग्ने उहाँको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours