०८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणलाई जेनजी आन्दोलनका अगुवाहरूले सकारात्मक रूपमा लिएका छन्। भ्रमणका क्रममा भएका सहमति र सम्झौताले नेपालको पर्यटन, व्यापार, पूर्वाधार तथा अर्थतन्त्रमा योगदान पुर्याउने उनीहरूको अपेक्षा छ। यद्यपि, केही अभियन्ताले भ्रमणका क्रममा उठाउनुपर्ने महत्त्वपूर्ण विषय अझै बाँकी रहेको र प्रधानमन्त्रीको विगतको अभिव्यक्ति तथा अहिलेको कूटनीतिक व्यवहारबीचको भिन्नतालाई समेत औँल्याएका छन्।
जेनजी अगुवा मिराज ढुंगानाले प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई सन्तोषजनक भन्दै सरकारलाई धन्यवाद दिएका छन्। हवाई, रेल र समुद्री मार्गसँग सम्बन्धित सहमतिलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गर्दै उनले यस्ता अवसर कमै प्राप्त हुने बताएका छन्।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतले एयर रुट अनुमति दिनु नेपालको पर्यटन, हवाई सञ्जाल र अर्थतन्त्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। त्यस्तै, अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालन गर्ने सहमतिले धार्मिक पर्यटन र दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने उनले बताएका छन्। नेपाल–भारतबीच व्यापारिक गतिविधि सहज बन्दै जाँदा नेपाली अर्थतन्त्रले फड्को मार्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुँदै जाने अपेक्षासमेत उनले गरेका छन्।
अर्की जेनजी अगुवा रक्षा बमले भने प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई उनको कूटनीतिक परिपक्वतासँग जोडेर टिप्पणी गरेका छन्। नेपाल–भारत सीमा विवादलाई प्रधानमन्त्रीको भ्रमणका क्रममा पर्याप्त प्राथमिकता नदिइएको उनको टिप्पणी छ।
उनले विगतमा मेयर रहँदा बालेन नेपाल–भारत सीमा विवादमा निकै मुखर र आक्रामक देखिने गरेको तर प्रधानमन्त्री बनेपछि कूटनीतिक जटिलता बुझेर व्यवहार गरेको बताएकी छन्। उग्र राष्ट्रवादले चर्चामा ल्याउन सक्ने भए पनि वास्तविक समस्या समाधान गर्न नसक्ने उनको टिप्पणी छ। यद्यपि, प्रधानमन्त्रीले गरेका कामप्रति धन्यवाद दिँदै उनले नेपाल–भारत मैत्री सम्बन्ध दीर्घजीवी रहोस् भन्ने कामना गरेकी छन्।
त्यस्तै, जेनजी अगुवा तनुजा पाण्डेले पनि प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई सराहनीय भनेकी छन्। लामो समयदेखि प्रतीक्षामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई मार्गको स्वीकृति, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, जलवायु न्याय र विकास पूर्वाधारमा भारतीय सहयोगको प्रतिबद्धतालाई उनले सकारात्मक रूपमा लिएकी छन्।
यद्यपि, भ्रमणका क्रममा छलफल हुन बाँकी रहेका महत्त्वपूर्ण विषय आगामी दिनमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाउनुपर्ने उनको अपेक्षा छ। नेपाल र भारतबीचको विश्वास, आपसी सहकार्य र मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्नुपर्नेमा जोड दिँदै उनले कूटनीतिक पहलका लागि प्रधानमन्त्री बालेन, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेप्रति आभार व्यक्त गरेकी छन्।


+ There are no comments
Add yours