राजीनामाको १२ दिनमै एनभिडियाको सिइओमा फर्किए जेन्सेन हुआङ

०८ मंसिर, काठमाडौँ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिले सोमबार जेनसेनलाई तत्काल लागू हुने गरी अध्यक्ष, सिइओ र सञ्चालक समिति सदस्यका रूपमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले सर्वसम्मत रूपमा उनलाई नेतृत्वमा फर्काउने निर्णय गरेको कम्पनीले जनाएको छ।

व्यक्तिगत जीवनसँग जोडिएका विवाद सार्वजनिक भएपछि जेनसेनले नोभेम्बर १२ मा अध्यक्ष, सिइओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको थियो।

जेनसेनको राजीनामापछि उनलाई पुनः नेतृत्वमा फर्काउन कम्पनीका कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकहरूले माग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उनलाई पुनः नियुक्त गर्नुपर्ने धारणा राखेका थिए।

उनलाई फर्काउन सञ्चालित अभियानमा एक लाख ८० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए।

जेनसेन आफैले पनि सञ्चालक समितिले चाहे आफू सिइओका रूपमा फर्कन तयार रहेको बताएका थिए। उनले व्यक्तिगत जीवनमा गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यसको जिम्मेवारी लिने र सञ्चालक समितिको स्वतन्त्र छानबिनमा सहयोग गर्ने बताएका थिए।

तर केही दिनअघि मात्रै एनभिडियाका सञ्चालक समिति अध्यक्ष हार्भी जोन्सले जेनसेनलाई पुनः सिइओ नियुक्त गर्ने कुनै योजना नरहेको बताएका थिए। सञ्चालक समितिले उनको राजीनामा सर्वसम्मत रूपमा स्वीकार गरेको र निर्णयमा पुनर्विचार नगर्ने उनको भनाइ थियो।

सोमबार भने समितिले आफ्नो अघिल्लो निर्णय उल्ट्याउँदै जेनसेनलाई पुनः जिम्मेवारी दिएको हो।

समितिले जेनसेनसँग पटक पटक छलफल गरेपछि उनको स्पष्टता र कम्पनीको नेतृत्व गर्ने क्षमताप्रति विश्वस्त भएको जनाएको छ।

अमेरिकी सरकारका वरिष्ठ अधिकारीबाट समेत सुझाव लिएको र उनको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा जोखिम नहुने निष्कर्ष निकालेको कम्पनीले उल्लेख गरेको छ।

पुनर्नियुक्तिपछि जेनसेनले कम्पनीको नेतृत्वमा फर्कन पाउनु सम्मानको विषय भएको बताएका छन्। उनले सञ्चालक समिति, कर्मचारी, सेयरधनी र व्यावसायिक साझेदारलाई धन्यवाद दिएका छन्।

जेनसेनको व्यक्तिगत सम्बन्ध र सम्भावित विदेशी गुप्तचर गतिविधिसँग जोडिएका विषयमा भने कम्पनीको स्वतन्त्र छानबिन जारी रहनेछ। त्यसका लागि सञ्चालक समितिले छुट्टै समिति गठन गरेको छ।

जेनसेनले पनि छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

एनभिडियाका संस्थापक जेनसेनले सन् १९९३ मा दुई इन्जिनियरसँग मिलेर कम्पनी स्थापना गरेका थिए।

भिडिओ गेमका लागि ग्राफिक्स चिप बनाउने कम्पनीलाई उनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीका लागि आवश्यक चिपको प्रमुख आपूर्तिकर्ताका रूपमा विस्तार गरेका हुन्। अहिले एनभिडिया विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक हो।

जेनसेन फर्किए पनि कोलेट क्रेसले भने प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी निरन्तर सम्हाल्नेछिन्। सञ्चालक समितिका अध्यक्ष हार्भी जोन्स पनि सोही पदमा कायम रहने कम्पनीले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours