अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ ।

०५ मंसिर, अमेरिका । अमेरिकामा नेपालीले शरण माग गर्दै दिएको आवेदन (एसाइलम) अस्वीकृत दर २६ वर्षयताकै उच्च देखिएको छ । सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ ।

२०२६ को हालसम्म ५ सय १६ जनाले अमेरिकामा शरण माग्दै कानुनी बसोबासका लागि दिएका थिए । तीमध्ये ४ सय ५८ जनाको आवेदन अस्वीकृत गरिएको हो । ५८ जनालाई मात्र अमेरिकी अध्यगमन अदालतले बसोबासका लागि स्वीकृती दिएको ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङ हाउस (टिआरएसी)को तथ्यांकमा उल्लेख छ ।

गैरकानुनी रुपमा प्रवेश गरेका, भिसा प्राप्तपछि तोकिएको अवधि भन्दा बढी समय बिताएका र देशभित्र विभिन्न समस्याबाट गुज्रिएको दाबी गर्दै शरणका लागि प्रक्रिया बढाएकाहरुले अमेरिकामा कानुनी रुपमा बसोबासका लागि स्थायी बासिन्दा प्रमाणपत्र पाउँ भन्दै प्रमाणसहित अदालतमा एसाइलम मुद्दा अघि बढाएका हुन्छन् ।

अदालतमा स्थायी बासिन्दाको प्रमाण पत्र माग गर्दै शरणका लागि आग्रह गर्ने प्रक्रियालाई एसाइलम भनिन्छ । तथ्यांकअनुसार अघिल्लो बर्ष २०२५ मा एसाइलमका लागि आवेदन दिएका ६ सय २२ मध्ये ३ सय ४ जनाको स्वीकृत गरिएको थियो । आवेदनलाई अमेरिकी अध्यागमन अदालतले शरणका लागि अयोग्य ठहर गर्दै यस वर्ष ३ सय १८ वटा आवेदन अस्वीकृत गरिएको थियो ।

२६ वर्ष अवधिमा नेपालीले एसाइलमका लागि दिएका आवेदन मध्ये सन् २०२३ मा सबैभन्दा बढी स्वीकृत गरिएको थियो । ८ सय ८ जनाले आवेदन दिएको मध्ये ६ सय ७५ जनाको आवेदनलाई अध्यागमन अदालतले स्वीकृत गरेको थियो । यो संख्या २६ वर्षकै सबैभन्दा उच्च हो । यस वर्ष १ सय ३३ जनाको आवेदन अस्वीकृत गरिएको टिआरएसीको तथ्यांकमा उल्लेख छ ।

यसैगरी २०१९ मा पनि आवेदन स्वीकृतको संख्या अधिक थियो । आवेदन दिने ९ सय २ जनामध्ये ६ सय ५७ ले स्थायी बासिन्दाको लागि स्वीकृत पाएका थिए । यसवर्ष २ सय ४५ वटा आवेदन अस्वीकृतको सूचीमा समावेश भएको थियो । २६ वर्ष अवधिमा ७ हजार ३ सय ४२ जना नेपालीले एसाइलम पाएका छन् । टिआरएसीको तथ्यांकअनुसार १० हजार ४ सय ८१ जनाले एसाइलमका लागि दिएको आवेदनमध्ये ३ हजार १ सय ३९ अस्वीकृत भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours