बाढी प्रभावित सहकारीलाई सहकारी बैंकको २० लाख

१८ भदाै, काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघ-संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद् प्रभावित सहकारीहरूलाई सहयोग गर्ने निर्णय गरेको हो । बैंकका अनुसार विपद्का कारण सहकारी संघ-संस्थाका अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

उक्त अवस्था मध्यनजर गर्दै विनियोजन गरिएको २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डबमोजिम वितरण गरिनेछ । त्यसैगरी बाढीपहिरोबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्तजन अझै सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीहरूले स्वःस्फूर्तरूपमा छ लाख चार हजार पाँच सय ३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् ।

संकलित रकमबाट प्रभावित तीन जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरूले समेत एक दिन बराबरको बैठक भत्ता योगदान गर्ने भएका छन् । त्यस्तै सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने पनि बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours