० ९ भाद्र काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आँखामा देखिएको गम्भीर स्वास्थ्य समस्याका कारण आगामी संसद बैठकमा पनि कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन् । भोलि बुधबार दिउँसो ठीक १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको बहुप्रतिक्षित प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनी सहभागि हुने कार्यतालिका छ ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा, मर्यादा र शिष्टाचारलाई ध्यानमा राख्दै प्रमुख सचेतक तथा सचेतकहरू मार्फत सम्पूर्ण सांसदहरूलाई बैठक कक्षभित्र कालो चस्मा नलगाएर उपस्थित हुन अनौपचारिक आग्रह गरेका थिए । उनले मर्यादित पोसाक लगाउनु पर्नेमा समेत जोड दिएका थिए ।
यदि कसैले स्वास्थ्य कारणवश कालो चस्मा लगाउनै पर्ने अवस्था आएमा त्यसको आधिकारिक कारण र सम्बन्धित स्वास्थ्य परीक्षणको प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्ने निर्देशन सभामुखको थियो। संसद् बैठकमा प्रधानमन्त्रीको चस्माकै विषयमा विभिन्न सांसद्हरुले प्रश्न समेत उठाउने गरेका छन् ।
सभामुखको उक्त निर्देशन र आग्रहलाई पूर्ण रूपमा सम्मान गर्दै प्रधानमन्त्री शाहले भने आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्थालाई औपचारिक रूपमा संघीय संसद् सचिवालयसमक्ष स्पष्ट पार्दै आधिकारिक पत्र नै दर्ता गराएका छन्। सचिवालयमा दर्ता भएको पत्र र स्वास्थ्य विवरणले संसद्मा उनको चस्मा लगाउने विषयलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीलाई समेत स्पष्ट रूपमा विराम लगाइदिएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयद्वारा संघीय संसद सचिवालयलाई पठाइएको उक्त पत्रमा उनको स्वास्थ्य अवस्था, उपचारको क्रम र चिकित्सकीय सुझावहरूको फेरिहस्त समेत संलग्न गरिएको छ। प्राप्त विवरण अनुसार, प्रधानमन्त्री शाहलाई पछिल्लो समय तीव्र उज्यालोमा हेर्न अत्यधिक असहज हुने तथा आँखाको प्राकृतिक ओसिलोपन कम भई सुक्खा भइरहने समस्या (ड्राई आई सिन्ड्रोम) देखिएको छ।
यही स्वास्थ्य समस्याका कारण उनले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित केन्द्रीय सैनिक अस्पतालमा पुगी विशेष रूपमा आफ्नो आँखाको विस्तृत स्वास्थ्य परीक्षण गराएका थिए । नेपाली सेनाका विज्ञ चिकित्सक लेफ्टिनेट कर्णेल डा. सचित ढकालको टोलीले प्रधानमन्त्री शाहको आँखाको स्वास्थ्य परीक्षण गरेको थियो।
चिकित्सकको उक्त परीक्षणबाट प्राप्त आधिकारिक रिपोर्टमा प्रधानमन्त्रीलाई अत्यधिक उज्यालो प्रकाशमा आँखा खुला राख्न वा हेर्न निकै कठिनाई हुने तथ्य औंल्याइएको छ। त्यसका साथै, आँखालाई सुरक्षित राख्न र सुक्खा हुनबाट बचाउनका लागि नियमित रूपमा चिकित्सकले सिफारिस गरेको विशेष आइड्रप दिनमा पटकपटक प्रयोग गर्नुपर्ने तथा उज्यालोको सीधा सम्पर्कबाट जोगिन कालो चस्मा वा विशेष लेन्सको प्रयोगलाई निरन्तरता दिनुपर्ने चिकित्सकीय सुझाव दिइएको थियो।
यही चिकित्सकीय सल्लाह र स्वास्थ्यगत बाध्यतालाई आधार मान्दै प्रधानमन्त्रीले संसद् बैठकमा समेत कालो चस्मा लगाउनुपर्ने कारणसहितको स्पष्टीकरण पत्र सचिवालयमा पठाएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक कार्यक्रम, चुनावी अभियान, स्थानीय तहको नेतृत्व सम्हाल्दाका बखतदेखि हालसम्म पनि लगातार कालो चस्मा लगाउने गरेको विशेष पहिरन शैली लामो समयदेखि आम नागरिक, सञ्चार माध्यम र राजनीतिक वृत्तमा गहिरो कौतुहल तथा चर्चाको विषय बन्दै आएको छ।
काठमाडौं महानगरपालिकाको मेयरको रूपमा काम गर्दा होस् वा देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दा, उनको यो चस्मालाई नेपाली युवा पुस्ताले ठूलो मात्रामा रुचाउने गरेका छन्।
विशेष गरी केही समय पहिले नेपाली बजारमा उनको यो स्टाइल अत्यधिक भाइरल भएको थियो, जसमा उनले लगाउने गरेको चस्माको ढाँचालाई पछ्याउँदै बजारभरि ’बालेन चस्मा’को नामले विभिन्न फेसन र ब्रान्डका चस्माहरू किन्न युवाहरूको ठूलै भीड लागेको थियो।


+ There are no comments
Add yours