अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

०७ भाद्र, काठमाडौँ ।‍ अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का सचिव मोहसेन रेजाइले शनिबार सरकारी प्रसारक आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्।

रेजाइले अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविकता त्यस्तो नभएको बताउँदै, अमेरिकाले आफ्नो व्यवहार सच्याएर प्रतिबद्धता पूरा गरेपछि मात्रै यो मार्ग खोलिने स्पष्ट पारेका छन्। अमेरिकाले सैन्य विकल्पबाट अपेक्षित परिणाम हासिल गर्न नसकेपछि अहिले आर्थिक नाकाबन्दीमार्फत इरानमाथि दबाब बढाउन खोजिरहेको उनको आरोप छ। उनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही महिनाको आर्थिक नाकाबन्दीले इरानलाई झुकाउन सकिने आश्वासन दिएका थिए।

इरानले वर्षौंदेखि प्रतिबन्ध छल्ने उपाय विकास गरिसकेको र आफ्नो तेल निर्यात जारी राख्न सक्ने दाबी गर्दै रेजाइले पश्चिम एसियामा युद्ध अन्त्य चाहने आफ्नो देशले बाह्य दबाबका बाबजुद आत्मरक्षा जारी राख्ने चेतावनी दिएका छन्। साथै, फारसी खाडीको आधाभन्दा बढी तट इरानको भएकाले होर्मुज जलमार्ग व्यवस्थापन गर्ने अधिकार पनि इरानी पक्षसँगै रहेको उनले बताए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ अभियान घोषणा गर्दै तेल तस्करी सञ्जाल, वित्तीय कारोबार र जहाज दर्ताहरूलाई लक्षित गरेर कडा आर्थिक कारबाही गर्ने बताएका थिए। साथै, होर्मुज जलमार्ग ‘अमेरिकी क्षेत्र’ भएको र अमेरिकाले त्यहाँ पूर्ण नियन्त्रण कायम गरेको दाबी उनको थियो।

ट्रम्पको उक्त अभिव्यक्तिलाई इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले अस्वीकार गर्दै अमेरिकाको दाबीलाई परिस्थितिले वा इरानले नै सच्याउने प्रतिक्रिया दिएका छन्। संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले पनि अमेरिकाले १४ बुँदे समझदारीअनुसार आर्थिक नाकाबन्दी नहटाएसम्म र रोकिएका इरानी सम्पत्ति तथा तेलमाथिका प्रतिबन्ध खुकुलो नबनाएसम्म जलमार्ग नखोल्ने दोहोर्‍याएका छन्।

यता, अमेरिकी ऊर्जा सचिव क्रिस राइटले भने अमेरिकी नौसेनाको सुरक्षामा होर्मुज जलमार्गबाट मंगलबार मात्रै १ करोड ५० लाख ब्यारेलभन्दा बढी तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार भएको दाबी गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours