जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी षड्यन्त्रपूर्वक धम्की र दबाब दिने प्रयास भएको भन्दै पत्रकारहरू सम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन् ।
११ जेठ, काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी षड्यन्त्रपूर्वक धम्की र दबाब दिने प्रयास भएको भन्दै पत्रकारहरू सम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन् । उनीहरूले योजनाबद्ध रूपमा पत्रकारलाई निगरानी गर्ने प्रयासको खबरदारी गरेका छन् ।
पत्रकारहरूका दुई संगठन प्रेस चौतारी र प्रेस सेन्टरले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई पछिल्लो समय राज्यबाट निगरानी गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई धरपकड गर्ने र समाचारको स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको दाबी गरिएको छ।
‘राज्य शक्तिको आडमा सञ्चारमाध्यम र वरिष्ठ पत्रकार श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षडयन्त्र अलोकतान्त्रिक र स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार हो’, चौतारीले भनेको छ ।

त्यस्तै, प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा पत्रकार श्रेष्ठविरुद्ध सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट दुष्प्रचार र धम्की दिने काम भइरहेको उल्लेख छ ।
केही दिनअघि देखि एक विदेशी नागरिकसँग श्रेष्ठको संवाद भएको अडियो बाहिर आएको छ । उक्त अडियो नियोजित रूपमा तयार भएको श्रेष्ठले दाबी गर्दैआएका छन् ।
जनआस्थाको कार्यालय रक्सीको बोतल र नगद रकम छाडिएको र समाचारका लागि आर्थिक प्रलोभन देखाएको भन्दै उनले आपत्ति जनाएका छन् ।
उक्त घटनाबारे जनआस्थाले नै सार्वजनिक गरेको समाचार यस्तो छ :
शुक्रबार बिहान चिनियाँ नम्बरबाट आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई फोन गरिएको थियो ।
आफूलाई ‘यिङ‘ नामले चिनाएका व्यक्तिले बेइजिङबाट फोन गरेको दाबी गर्दै पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङविरुद्ध समाचार लेख्न आग्रह गरेका थिए । त्यसवापत १० लाख नगद दिने प्रलोभनसमेत दिइएको थियो ।
न जनआस्थाको तर्फबाट फोन गरेर रकम माग भएको हो,न त त्यसलाई स्वीकार नै गरिएको हो ! गिरोह आफैँले फोन गरेको र आफैंले ढोकामा ल्याएर रक्सी र रकम छोडेको हो !
फोन गर्ने व्यक्तिले सुधन हाम्रा लागि खतरा रहेको भन्दै उनलाई पुन: गृहमन्त्री हुनबाट रोक्नका लागि नेपालका सबै मिडिया परिचालन गर्नुपर्ने तर्क गरेका थिए । तर जनआस्थाको तर्फबाट उक्त प्रस्ताव स्पष्ट रूपमा अस्वीकार मात्र गरिएन,आइन्दा कल नगर्न चेतावनी पनि दिइएको थियो । त्यसपछि गिरोहले अर्को रणनीति अपनाउँदै एक युवतीमार्फत् सानेपा, ठाडोढुंगास्थित जनआस्था कार्यालयको गेटमा रक्सीको बोतल र ५० हजार रुपैयाँ छोडेको थियो, जसलाई आधार बनाएर अहिले झूठो कथा बुनी सञ्जालमा भ्रम छर्ने काम भइरहेको छ ।
खासमा यो घटनाको वास्तविकता के हो भने,न जनआस्थाको तर्फबाट फोन गरेर रकम माग भएको हो,न त त्यसलाई स्वीकार नै गरिएको हो ! गिरोह आफैँले फोन गरेको र आफैंले ढोकामा ल्याएर रक्सी र रकम छोडेको हो ! यसबारे प्रहरी अनुसन्धान शुरु भएपछि ‘एकाउन्ट डिएक्टिभेट‘ गर्दै थप भ्रम फैलाउने प्रयास अहिले पनि भैरहेको छ ।
शुक्रबार यस्तो क्रियाकलाप हुन थालेपछि पत्रकार श्रेष्ठले गत शनिबार घटनाबारे ललितपुर प्रहरीलाई जानकारी गराएका थिए । यस्तो कार्य गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै पत्रकार श्रेष्ठले उजुरी गरेको ललितपुर प्रहरीका एसपी गौतम मिश्रले पुष्टी गरे ।
दुवै संगठनले पत्रकार श्रेष्ठमाथि लगाइएका आरोपहरूको निष्पक्ष छानबिन गर्न र उनीविरुद्ध षडयन्त्र गर्ने दोषीहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै उनीहरूले श्रमजीवी पत्रकारमाथि हुने कुनै पनि प्रकारको धाकधम्की, प्रतिशोध र अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।
यो विषय सामाजिक सञ्जालमा समेत भाइरल भएपछि आइतबार नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले समेत विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका थिए ।
‘हामी सम्बन्धित नेपाली निकायहरूलाई उक्त हल्लाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न तथा यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न आग्रह गर्दछौं,’ चिनियाँ दूतावासका प्रवक्ताको विज्ञप्तिमा छ ।
चिनियाँ दूतावासले भने त्यस्ता आरोपलाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्दै चीनको छवि बिगार्ने उद्देश्यले नियोजित रूपमा फैलाइएको प्रचार भएको दाबी गरेको छ।
दूतावासले चीनले सधैं ‘अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त’ पालना गर्दै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्दै आएको दाबी पनि गरेको छ।


+ There are no comments
Add yours