२४ असाेज, काठमाडौँ। अर्घाखाँची, असोज २४ गते । दसैँ नजिकिएसँगै अर्घाखाँचीका ग्रामीण बस्तीमा घर पोत्ने, आँगन लिपपोत गर्ने र घरगोठ सिँगार्ने चटारो सुरु भएको छ । रोजगारी, अध्ययन र अन्य कामका लागि सहर तथा विदेश गएका परिवारका सदस्य गाउँ फर्किन थालेपछि लामो समयदेखि सुनसान जस्तै बनेका बस्तीमा चहलपहल बढेको छ । दसैँको तयारीका क्रममा घर सफा गर्ने, माटो र कमेरोले भित्ता पोत्ने, आँगन लिप्ने तथा गोठ सफा गर्ने पुरानो परम्परा ग्रामीण क्षेत्रमा अझै कायम छ । आधुनिक रङको प्रयोग बढ्दै गए पनि पुराना माटाका घरमा कमेरो र रातो माटो लगाएर सिँगार्ने चलन भने पुस्तौँदेखि निरन्तर छ ।
गाउँका घरआँगनमा महिला तथा पुरुष घर सफा गर्ने, भित्तामा कमेरो लगाउने र आँगन लिप्ने काममा व्यस्त देखिन्छन् । कतिपय परिवारले घरका झ्यालढोका सफा गर्नुका साथै गोठ तथा घरवरपरको वातावरणसमेत सरसफाइ गरिरहेका छन् । मालारानी गाउँपालिका–५, आरुखोरका शोभाकर खत्रीले दसैँ र घरआँगनको सरसफाइ तथा सिँगारबिच पुरानो सम्बन्ध रहेको बताउनुभयो । उहाँले दसैँमा नयाँ कपडा लगाउने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मिठा परिकार खानेसँगै घर सफा तथा चिटिक्क बनाउने परम्परा रहेको बताउनुभयो ।
खत्रीले भन्नुभयो, “दसैँ आउनुअघि घर लिपपोत गर्ने र सफा गर्ने चलन हाम्रो संस्कृतिसँग जोडिएको छ । नयाँ पुस्तामा आधुनिक रङको प्रयोग बढे पनि गाउँमा अझै माटो र कमेरोले घर सिँगार्ने चलन कायमै छ ।” मालारानी गाउँपालिका–५, पलसपाटाका भुमबहादुर महतका अनुसार कमेरोले पोतेका सेता भित्ता र रातो माटोले सिँगारिएका घरले गाउँको मौलिकता झल्काउँछन् । उहाँले पछिल्लो समय पक्की घर बढे पनि पुराना माटाका घरमा गरिने लिपपोतले ग्रामीण संस्कृतिको पहिचान जोगाउन सहयोग गरेको बताउनुभयो ।
दसैँका लागि घरगोठ सिँगार्ने कामसँगै गाउँमा पिङ हाल्ने, बाटोघाटो तथा चौतारा सफा गर्ने र आफन्तको स्वागतको तयारीसमेत भइरहेको छ । सहर तथा विदेशबाट परिवारका सदस्य फर्किन थालेपछि गाउँका पसल, बजार, बाटोघाटो र सार्वजनिक स्थलमा समेत मानिसको आवतजावत बढेको छ । स्थानीयका लागि दसैँ धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई लामो समयदेखि टाढिएका परिवारका सदस्य र आफन्तलाई एकै ठाउँमा भेला गराउने अवसरसमेत हो । त्यसैले दसैँको आगमनसँगै घरआँगनको सरसफाइदेखि पारिवारिक भेटघाटसम्मका गतिविधिले ग्रामीण बस्तीमा पुनः रौनक थपेको छ ।


+ There are no comments
Add yours