काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीपछिको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि दुई दिनमा तीन अर्ब पाँच करोड रुपियाँ सहयोग रकम सङ्कलन भएको छ भने विदेशी मुद्राको कार्ड मार्फत् करिब रु. तीस करोड संकलन भएको छ । राहत तथा उद्धारका लागि सञ्चालनमा ल्याइएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सङ्कलन भएको हो । यो रकमसँगै कोषको कुल रकम पाँच अर्ब २५ करोड रुपियाँ पुगेको छ । यसअघि कोषमा दुई अर्ब १७ करोड रुपियाँ बचत थियो ।
कोषमा देशविदेशबाट विभिन्न व्यक्ति तथा संस्थाले सहयोग रकम दाखिला गर्ने क्रम जारी छ । शुक्रबार मात्रै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर विभिन्न सङ्घ संस्था तथा व्यक्तिले कोषका लागि रकम बुझाएका छन् । मन्त्रालयका अनुसार शुक्रबार सूर्य नेपाल प्रालिले १५ करोड रुपियाँ सहयोग गरेको छ । त्यस्तै व्यक्तिगततर्फ ८७ वर्षीय राजी राणाले एक करोड नौ लाख रुपियाँ सहयोग गर्नुभएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक प्राइम बैङ्कले तीन करोड १० लाख, कृषि विकास बैङ्कले तीन करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख, एग्रो थाई फुड्स प्रालिले एक करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड एक लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक करोड रुपियाँ कोषमा बुझाएका छन् ।
उद्योगी विजयकुमार शाहले एक करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले एक करोड, डब्लुडब्लुएफ नेपालले एक करोड, मोरङ अटो वक्र्सले एक करोड ११ लाख, जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, अल्फा अटोमोटिभ प्रालिले एक करोड, सोलु हाइड्रोपावरले एक करोड कोषमा जम्मा गरेको मन्त्रालयले जनाएको छ ।
कोषमा विदेशबाट रकम सहयोग गर्न सरकारले छुट्टै पोर्टल सञ्चालनमा ल्याएको छ भने स्वदेशबाट रकम सहयोग गर्न विभिन्न आठ वटा बैङ्कमा खाता र क्युआर सञ्चालनमा ल्याइएको छ ।


+ There are no comments
Add yours