विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि हट्यो सरकार, भारतीय टोली काठमाडौँ प्रस्थान

१३ भाद्र, काठमाडौँ । उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ। विभिन्न देशले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव गरे पनि यसअघि सरकारले ती प्रस्ताव अस्वीकार गर्दै आएको थियो।

भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशले आफ्ना खोज तथा उद्धार टोली नेपालमा परिचालन गर्न अनुमति दिन सरकारसँग आग्रह गरेका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसो मात्र उद्धार तथा खोजी कार्य आफ्नै सुरक्षा निकायले गरिरहेको बताउँदै तत्काल विदेशी टोलीको आवश्यकता नरहेको स्पष्ट पारेको थियो।

रोयटर्ससँगको कुराकानीमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले ‘सहयोगको प्रस्ताव आउनु स्वाभाविक भए पनि हाम्रा सुरक्षा निकायले नै खोज तथा उद्धारको काम गरिरहेकाले अहिलेका लागि त्यस्तो सहयोग आवश्यक छैन’ भनी प्रतिक्रिया दिए।

तर, आफ्नो पूर्ववत अडानबाट पछि हट्दै सरकारले ती देशलाई खोज तथा उद्धार टोली पठाउन ‘ग्रीन सिग्नल’ दिएको छ। सोही अनुरुप भारतबाट ११ सदस्यीय डाक्टर, स्वास्थ्यकर्मी र सुरुङ उद्धारका लागि रेकी टोली शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँ प्रस्थान गरेको जानकारी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours