अब सेल्फी भिडियोबाटै गुगल एकाउन्ट लगइन गर्न सकिने

०९ साउन, काठमाडौँ । गुगलले प्रयोगकर्तालाई सेल्फी भिडियोमार्फत आफ्नो खाता लगइन गर्न सकिने नयाँ सुविधा उपलब्ध गराएको छ।

यो सुविधा प्रयोग गर्नुअघि प्रयोगकर्ताले पहिलो पटक एउटा सेल्फी भिडियो रेकर्ड गर्नुपर्ने हुन्छ। यस क्रममा प्रयोगकर्ताले आफ्नो उपकरणको क्यामेरातर्फ हेरेर निर्देशनअनुसार टाउको केही पटक विभिन्न दिशामा घुमाउनुपर्ने हुन्छ, जसबाट अनुहारका विभिन्न कोण रेकर्ड गरिन्छ।

एकपटक प्रारम्भिक सेल्फी भिडियो सुरक्षित गरेपछि प्रयोगकर्ताले पासवर्ड बिर्सिएको अवस्थामा पनि सेल्फी भिडियो प्रयोग गरेर आफ्नो गुगल खातामा लगइन गर्न सक्नेछन्।

टेलिग्राफका अनुसार गुगलले नयाँ रेकर्ड गरिएको सेल्फी भिडियोको तुलना सुरुमा सुरक्षित गरिएको भिडियोसँग गरेर प्रयोगकर्ताको पहिचान पुष्टि गर्नेछ। पहिचान मिलेपछि खातामा पहुँच प्रदान गरिनेछ।

प्रयोगकर्ताले सुरक्षित गरिएको सेल्फी भिडियो जुनसुकै बेला आफ्नो खाताबाट हटाउन सक्नेछन्। गुगलका अनुसार यो भिडियो प्रयोगकर्ताको पहिचान पुष्टि गर्न मात्र प्रयोग गरिनेछ, जबसम्म प्रयोगकर्ताले अन्य उद्देश्यका लागि यसलाई साझेदारी गर्ने अनुमति नदिन्छन्।

कम्पनीका अनुसार सेल्फी भिडियो सुरक्षित रूपमा इन्क्रिप्ट गरेर भण्डारण गरिनेछ, जसले प्रयोगमा नभएको अवस्थामा पनि यसको सुरक्षा सुनिश्चित गर्नेछ।

गुगलले नक्कली फोटो वा भिडियो प्रयोग गरेर अरूको पहिचान नक्कल गर्ने प्रयास रोक्न यस सुविधामा सुरक्षा तहका धेरै उपायहरू अपनाइएको जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours