अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सम्भावित दुर्घटनाबाट बच्न सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ।
०५ चैत, काठमाडौँ । शुक्रबार र शनिबार देशका विभिन्न भागमा मौसम बदलीसँगै तीव्र हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले सचेत गराएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने जनाएको हो । त्यसैगरी, दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीव्र हावाहुरीको सम्भावन छ ।
शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (करिब ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको विपद् प्रतिकार्य शाखाका उपसचिव रामबहादुर केसीद्वारा जारी सूचनामा उल्लेख छ।
हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने भएकाले सचेत रहन प्राधिकरणले आग्रह गरेको छ । पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला घरका झ्यालढोका बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित राख्न र सवारीसाधन चलाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ। त्यस्तै, जोखिमपूर्ण स्थानबाट टाढा रहन र सम्भावित दुर्घटनाबाट बच्न सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको छ।


+ There are no comments
Add yours