ब्रेक फेल भएपछि तेजस विमान रनवेबाट बाहिरियो, भारतीय वायुसेनाद्वारा ३० वटा लडाकु विमान ‘ग्राउण्डेड’

११ फागुन, काठमाडाैँ । भारतीय वायुसेनाको हल्का लडाकु विमान ‘तेजस’ अवतरणका क्रममा रनवेबाट बाहिरिएपछि भारतले आफ्ना सबै ३० वटा सिंगल-सिट तेजस विमानहरूको उडानमा रोक लगाएको छ।

फेब्रुअरी ७ मा भएको यस घटनामा विमानको ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, यस घटनाको विस्तृत जानकारी भने अहिले मात्र सार्वजनिक भएको हो।

तालिम उडान भरेर एयरबेस फर्किने क्रममा अवतरण गर्दा पाइलटले ब्रेक लगाउन खोजे पनि प्राविधिक गडबडीका कारण ब्रेक नलागेपछि विमान धावनमार्गबाट बाहिर पुगेको थियो। विमान रनवेबाट बाहिरिनुअघि नै पाइलटले सुरक्षित रूपमा आफूलाई बाहिर निकाल्न (इज्याक्ट गर्न) सफल भएका थिए।

यस दुर्घटनामा विमानमा क्षति पुगे पनि पाइलट भने पूर्ण रूपमा सुरक्षित रहेका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुन एयरबेसमा यो घटना भएको हो भन्ने जानकारी भने गोप्य राखिएको छ।
यस गम्भीर प्राविधिक त्रुटि सार्वजनिक भएपछि वायुसेनाले तत्काल कदम चाल्दै विस्तृत प्राविधिक अनुसन्धानका लागि ३० वटा तेजस जेटको सम्पूर्ण बेडाहरूलाई ‘ग्राउण्डेड’ गरेको छ।

अब विशेषज्ञहरूको टोलीले प्राविधिक जाँच गरी क्लियरेन्स नदिएसम्म यी विमानहरूले उडान भर्न पाउने छैनन्। भारतीय वायुसेनाले यसबारे अहिलेसम्म कुनै औपचारिक आधिकारिक वक्तव्य जारी नगरे पनि उच्च स्रोतहरूले अनुसन्धान प्रक्रिया सुरु भइसकेको पुष्टि गरेका छन्।
तेजस विमानसँग जोडिएको यो तेस्रो ठूलो दुर्घटना हो। यसअघि सन् २०२४ को मार्चमा राजस्थानको जैसलमेर नजिकै एउटा तेजस विमान दुर्घटना भएको थियो भने सन् २०२५ को नोभेम्बरमा दुबई एयरशोमा एरियल प्रदर्शनका क्रममा अर्को विमान दुर्घटनाग्रस्त भएको थियो।

लगातारका यस्ता घटनाले स्वदेशी प्रविधिमा निर्मित यो लडाकु विमानको सुरक्षा र प्राविधिक पक्षमाथि पुनः बहस सिर्जना गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours