धूमपानको कुलतमा युवा

“नेपालमा विद्यार्थीको सुर्तीजन्य पदार्थमा बसेको लतले पछि विकराल रूप लिन्छ,” सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा लाग्नुभएका उहाँले भन्नुभयो, “विद्यालय, कलेजमा यसरी विद्यार्थीले सुर्तीजन्य पदार्थ सेवन गर्दै जानु भविष्यका लागि दुःखद विषय हो ।”

०५ फागुन, काठमाडौँ । सहरी क्षेत्रमा अध्ययनरत विद्यार्थी धूमपान तथा सुर्तीसेवनको कुलतमा फसिरहेका छन् । तीनकुनेस्थित एक चिया पसलमा खाजा तथा चिया पिउने अन्य ग्राहक नगन्य मात्रामा देखिन्छन् । त्यहाँ कलेजको पोसाकमा विद्यार्थी चुरोट तानिरहेका हुन्छन् । उक्त खाजाघरको माथिल्लो तलामा समेत बस्ने ठाउँ छ । माथिल्लो तलामा समेत विद्यार्थी कलेजको पोसाकमै चुरोट तानिरहेको देख्न सकिन्छ । उक्त खाजाघरमा बिहान दिउँसोको समयमा चुरोट सेवन गर्नेहरू भेटिने गरेका छन् । यस्ता खाजाघर र बस्ने ठाउँ शहरका शरेक गल्लीमा भेटिन्छन् ।

युवक मात्र होइन, युवतीसमेत कलेजको पोसाकमा चुरोट पिइरहेका हुन्छन् । यस्तै दृश्य बानेश्वर, माइतीघर, अनामनगरमा रहेका कलेज नजिकका खाजाघरतिर पनि देख्न सकिन्छ । बानेश्वरमा अध्ययनरत एक विद्यार्थीका अभिभावकले एउटा कक्षामा तीन जनाबाहेक अरू सबैले चुरोट सेवन गर्ने गरेको सुनाउनुभयो । “नेपालमा विद्यार्थीको सुर्तीजन्य पदार्थमा बसेको लतले पछि विकराल रूप लिन्छ,” सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा लाग्नुभएका उहाँले भन्नुभयो, “विद्यालय, कलेजमा यसरी विद्यार्थीले सुर्तीजन्य पदार्थ सेवन गर्दै जानु भविष्यका लागि दुःखद विषय हो ।”

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ प्रतिवेदन अनुसार १५ वर्ष उमेर नपुग्दै चुरोटको कुलतमा लाग्नेहरू काठमाडौँ उपत्यकामा बढी देखिएका छन् । सर्वेक्षणले ५.५ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेको देखाएको छ । सबैभन्दा बढी ४.४ प्रतिशत गण्डकी प्रदेशको ग्रामीण क्षेत्रका किशोरकिशोरी रहेको उल्लेख छ । सोही उमेर समूहमा तेस्रो बढी सुदूरपश्चिमको ग्रामीण भेगका किशोरकिशोरी रहेको उल्लेख छ ।

यस्तै गण्डकी प्रदेशका ४.१ प्रतिशत किशोर किशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेको उल्लेख छ । ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्ष उमेरअघि नै कम्तीमा एक खिल्ली चुरोट/बिँडी पुरै सेवन गरेको उल्लेख छ । सर्वेक्षणले नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको लतमा रहेको पाइएको छ । यही लतमा यही उमेर समूहका पुरुष हिस्सा ४१.८ प्रतिशत छ । सार्वजनिक सर्वेक्षणमा उमेर समूह १५ देखि ४९ वर्ष समूहका व्यक्तिहरू रहेका थिए । नेपाल स्टेप्स सर्भे सन् २०१९ मा १५ देखि ६९ वर्ष उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला सुर्तीजन्य पदार्थको कुलतमा रहेको उल्लेख थियो । त्यसमा २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला चुरोट सेवनकर्ता रहेको उल्लेख थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ता धनी व्यक्तिभन्दा गरिब व्यक्ति बढी रहेको देखाएको छ । सर्वेक्षणले अति गरिब वर्ग २५.५ प्रतिशत र अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ ।

सर्वेक्षणले दैनिक २० खिल्ली बढी चुरोट सेवन गर्नेहरूमा १५ देखि १७ वर्ष उमेर समूहका बढी रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी सो उमेर समूहका कुल एक हजार ८९९ जनामध्ये ९.५ प्रतिशतले दैनिक २० खिल्लीभन्दा माथि चुरोट सेवन गर्ने गरेको बताएका थिए । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले विद्यार्थीलाई धूमपान रोक्नका लागि मन्त्रालयले विभिन्न कार्यक्रम ल्याइसकेको जानकारी दिनुभयो ।

“स्कुल, कलेजमा धूमपान गर्नु जटिल विषय हो, ती विद्यार्थीको निगरानी कलेज प्रशासन तथा अभिभावकले गर्नु पर्छ,” सचिव देवकोटाले भन्नुभयो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले कलेजका विद्यार्थीमा धूमपानको लत बस्नु राज्यका लागि हानिकारक भएको बताउनुभयो ।

सुर्तीजन्य पदार्थबाट हुने जोखिमलाई अन्त्य गर्न सरकारले सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा विज्ञापन गर्न नपाइने नियम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours