आर्थिक क्षेत्र दलहरुको साझा एजेन्डा हुनु पर्दछ : अध्यक्ष ढकाल

१५ माघ, वालिङ (स्याङ्जा) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दलहरुको चुनावी एजेन्डा आर्थिक विषयमा साझा हुनु पर्ने बताउनुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नीजि क्षेत्रको तर्फबाट साझा घोषणापत्र तयार गरिएको जानकारी दिनुहुँदै अध्यक्ष ढकालले यसलाई सबै दलहरुले आआफ्नो घोषणापत्रमा समावेश गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक नीति साझा नहुँदासम्म उत्पादन र स्वराजेगार बनाउने कार्यले गति लिन सक्दैन ।”

स्याङ्जाको वालिङमा बुधबारबाट सुरु भएको नवौं वालिङ महोत्सवको उद्घाटन गर्नुहुँदै अध्यक्ष ढकालले नेपालमा नै उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्न सके मात्रै देश विकास सम्भव रहेको स्पष्ट पार्नुभयो । यसका लागि दलहरुले आर्थिक विषयमा साझा मत गराउन जरुरी रहेको उहाँको भनाइ छ ।

नेपालमा केही पनि भएको छैन भन्ने गलतभाष्य बनाइएको भन्दै ढकालले भन्नुभयो, “नेपाललाई अमेरिकासँग तुलना गरेर कहाँ हुन्छ त पछिल्लो समयमा राम्रो प्रगती भएको छ ।” नेपालको विकास कमजोर नभएको अध्यक्ष ढकालको भनाइ छ ।

अरुलाई दोष दिएर मात्रै चाहेको विकास हुँदैन सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले थप्नु भयो अर्काेलाई खुइलाएर आफू राम्रो बन्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ ।

आफू अध्यक्ष भई सकेपछि व्यवसायी तथा यसको हितमा नरहेका धेरै ऐन कानुनलाई परिवर्तन गर्ने काम गराउँदै आएको ढकालले जानकारी गराउनुभयो ।

‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित वालिङस्थित खेलमैदानमा गण्डकी प्रदेशस्तरीय महोत्सव सुरु भएको हो ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक, व्यापारिक गरि विभिन्न विधाका गरि चार सयभन्दा धेरै स्टलहरू रहेका आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव माघ २५ गतेसम्म गरी १२ दिन सञ्चालन हुने संघले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours