जया {भीमा }एकादशी व्रतको महत्व!

१४ माघ, काठमाडौँ । मिति २०८२ साल माघ १५ गते बिहिबार माघशुक्ल एकादशी तिथि बिहान ११ / ५७ बजेसम्म माघशुक्ल जया {भीमा }एकादशी तिथी त्यस उप्रान्त द्वादशी तिथि हो।एकादशीको व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ।एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

१. स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् !गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन।यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ।अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ।यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ।अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं।सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्।एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो।हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

२. कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

३. श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्‌।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ।
एकादशी व्रतको प्रारम्भ कसरी भयो?भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।एकादशीको लागि दशमीको दिन हात ,गोडाको नङ सफा गरेर स्नानगरि हविस्य भोजन खाएर एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर “जया नाम्नीती विख्याता सर्व पापहरा परा “ जसले जया एकादशीको पवित्र नाम जप्दछ भने उसका सारापापहरु हटेर जाने गर्दछ।त्यसैले आफ्नु नित्य कर्मसकी स्नान गरेर प्राणायाम , पवित्र {कुशको औंठी }धारण ,तिलक धारण ,जपसकी लक्ष्मीनारायण ,माधवनारायण भगवानको सेवा ,पूजागरि दिनभर कथा श्रवण ,सत्संगगर्दै उपवास बसेर बेलुका सन्ध्या {जप }सकेर भगवानको बिग्रहमा रातभर दिपमालिका ,भजन ,किर्तन जाग्राम बसी त्यसको भोलिपल्ट गोदान ,पूर्णपात्रोसकी ब्राह्मणको दम्पतिलाई इच्छा भोजन गराउनु पर्दछ।जसले यसरि गर्दछ भने उसलाई

“पवित्रा पापहन्त्री च पिशाचत्वविनाशिनी,नैव तस्या व्रते चिर्णे प्रेतत्वं जायते नृणाम्।

अर्थात् जयाको व्रत गर्नेलाई पिशाच हुनुपर्ने भएपनि त्यस पिशाचत्वबाट छुटाउने छ अर्थात् त्यसको व्रतगर्ने मानिस प्रेत हुँदैन।जया एकादशीका विषयमा जुन कथा प्रचलित छ, त्यसबमोजिम धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसित निवेदन गर्नुहुन्छ।माघ शुक्ल एकादशीका दिन कसको पूजा गर्नुपर्छ? र यस एकादशीको के महत्त्व के छ? श्री कृष्ण आज्ञा गर्नुहुन्छ। माघ शुक्ल पक्षको एकादशीलाई जया एकादशी भन्दछन। यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ।श्रीकृष्णले यस सन्दर्भमा एउटा कथा पनि युधिष्ठिरलाई सुनाउनुभयो।नन्दन वनमा उत्सव चल्दै थियो।त्यस उत्सवमा सबै देवता, सिद्ध, सन्त र दिव्यपुरूष उपस्थित थिए।त्यस समय गन्धर्व गायन गर्दै थिए र गन्धर्वकन्या नृत्य प्रस्तुत गर्दै थिए।सभामा माल्यवान नामक एउटा गन्धर्व र पुष्पवती नामक एउटी गन्धर्वकन्याको नृत्य हुदै थियो।

त्यसै बीच पुष्यवतीको नजर जसै माल्यवान उपर पर्‍यो ऊ त्यस गन्धर्वप्रति मोहित भई।पुष्यवती सभाको मर्यादालाई बिर्सिएर माल्यवान आफूतर्फ कसरी आकर्षित हुन्छ भन्ने ध्येयले नृत्य गर्न थाली।माल्यवानले पनि गन्धर्वकन्याको भंगिमालाई देखेर आफ्नो होस गुमायो र गायनको मर्यादा उल्लङ्घन गर्‍यो, परिणामतः उसले बेसुरको अलाप गाउन थाल्यो। पछि यिनीहरु एक – आपसमा मोहित भएर गाउँदा सुर र ताल बिग्रिएको इन्द्रले देखेर यिनी दुवैलाई इन्द्रले पुष्पवती र माल्यवानका अमर्यादित कृत्य देखेर क्रोधित भए र उनले दुबैलाई स्वर्गबाट वञ्चित हुने र पृथ्वीमा बसोवास गर्ने तथा मृत्युलोकमा अति नीच पिशाच योनिमा जन्म हुने श्राप दिए।यस्तो श्रापका कारण तत्काल दुबै जना पिशाच बने र हिमालय पर्वतमा एउटा वृक्षमा दुबैको निवास हुनथाल्यो।त्यहाँ पिशाच योनिमा रहदा यी दुईलाई अत्यन्त कष्ट अनुभव भयो।एक पटक माघ शुक्ल पक्षको एकादशीका दिन दुबै अत्यन्त दु:खी थिए त्यस दिन ती दुईले केवल फलाहारमात्र गरेका थिए।रात्रिको समयमा दुबैलाई असाध्यै जाडो हुदैथियो, अत: दुबै रातभर सँगै बसे तथा जागा नै रहे।जाडोका कारण प्रातःकालमा कठ्याङ्ग्रिएर दुबैको मृत्यु भयो र नजानिकन जया एकादशीको व्रत पालना हुन पुग्यो, अन्ततोगत्वा दुबैले पिशाच योनिबाट मुक्ति पाए।

त्यसपछि माल्यवान र पुष्पवती पहिलेभन्दा पनि सुन्दर भए तथा स्वर्गलोकमा उनीहरूको स्थान पुनः प्राप्त भयो।देवराज इन्द्र दुबैलाई देख्नासाथ छक्क परे र उनले पिशाच योनिबाट कसरी मुक्ति प्राप्त भयो भनी जिज्ञासा राखे।माल्यवानले यो भगवान विष्णुलाई प्यारो लाग्ने जया एकादशीको प्रभाव भएको बताए।हामी दुबै जया एकादशीको प्रभावले पिशाच योनिबाट मुक्त भएका हौ।इन्द्रले यस्ता कुरा सुनेर अति प्रसन्न भए र उनले भने- हजुरहरू जगदीश्वरका भक्त हुनुहुन्छ त्यसैले अबदेखि मेरा निम्ति आदरणीय हुनुहुन्छ, अतः हजुरहरू अब स्वर्गमा आनन्दपूर्वक विहार गर्नुहवस्।जया एकादशीका दिन जगतपति जगदीश्वर भगवान विष्णु नै सर्वथा पूजनीय हुनुहुन्छ।जो श्रद्धालु भक्तले यस एकादशीको व्रत लिने गर्छन, तिनले दशमी तिथिदेखि नै एक समय मात्र आहार गर्नुपर्छ।सत्विक आहारामा विशेष ध्यान दिनुपर्छ।एकादशीका दिन भगवान विष्णुको ध्यान गर्दै संकल्प गर्नुपर्छ र त्यसपछि धूप, दीप, चंदन, फल, तिल एवं पञ्चामृतले विष्णुको पूजा गर्नुपर्छ।त्यसैले यो व्रत बस्नुपर्दछ।जसले जयाको व्रत बस्दछ भने उसलाई यो जन्ममा सुख ,सम्पत्ति,धर्म ,अर्थ ,काम र अन्त्यमा मोक्ष कडोरौँ बर्षसम्म बैकुण्ठमा बस्न पाउँदछ।यो कथा पढ्नाले र सुन्नाले पनि अग्निष्टोम यज्ञ गरेको फल मिल्दछ।
पं बालमुकुन्द देवकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours