१९ पौष, काठमाडौँ । नेपाली चलचित्र हलमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ चलचित्र शुक्रबार प्रदर्शन गर्ने परम्परा रहे पनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीन चलचित्र बिहीबारदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शनमा आएकामध्ये नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड चलचित्र ‘दी हाउसमेड’ र साउथ ‘४५’ रहेको छ ।
चलचित्र ‘एक्लो’ नेपालमा बनेको पहिलो साइन्स फिक्सन चलचित्र हो । प्रदीप खड्का अभिनीत चलचित्रको लेखन तथा निर्देशन प्रदीप शाहीको रहेको छ । चलचित्रको अन्य कलाकारमा विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योनसविक सिंहलगायतका रहनुभएको छ । बेलायती अभिनेता जेमी बेकनसमेत चलचित्रमा देखिनुभएको छ भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुनुहुन्छ । चलचित्रले १२४ सो पाएको छ ।
हलिउड चलचित्र ‘दी हाउसमेड’ सिड्नी स्विनी अभिनीत हो । चलचित्रले देशव्यापी ३६ सो मात्र पाएको छ । १२६ मिनेट रनटाइमको रहेको चलचित्रले देशव्यापी ३६ सो मात्र पाएको छ । एक धनाढ्य जोडीको सुसारे बनेकी एक युवतीको कथावस्तुमा चलचित्र आधारित छ ।
दक्षिण भारतीय एक्सन चलचित्र ‘४५’ कन्नड भाषाको काल्पनिक कथामा आधारित छ । सङ्गीतकारका रूपमा परिचित अजर्सन जान्याको निर्देशन डेब्यु चलचित्रलाई रोश रेड्डीले निर्माण गर्नुभएको हो । शिव राजकुमार, उपेन्द्र, राज बी. सेट्टी, कौस्तुभ मणि र जिशु सेनगुप्तालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले देशैभर ८७ सो पाएको छ ।
‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।
गाउँमा बसेर कल्पना गरे जस्तो काठमाडौँ सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर जिन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन सङ्घर्ष देखाउँदै ट्रेलरले काठमाडौँको सङ्घर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रस्ट पारेको छ ।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित चलचित्रमा बल्छीसँगै र वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् । चलचित्रमा योगेशकाजी शाहको बिजिएम, शङ्कर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपिन मल्लको सम्पादन रहेको छ ।


+ There are no comments
Add yours