भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना हुँदा को-पाइलटसहित सात जना घाइते, ६ जना ‘डिस्चार्ज’

१८ पौष, झापा । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना हुँदा सहचालक (को–पाइलट) सहित सात जना घाइते भएका छन्।

काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९०१ को एटीआर-७२ जहाज शुक्रबार राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन-वेबाट चिप्लिएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार जहाज रन-वेको पूर्वतर्फ करिब ३०० मिटर ‘ओभर रन’ भई घाँसे मैदानको हिलोमा भासिएको थियो।

जहाज काठमाडौंबाट राति ८ः२३ बजे उडेको थियो।

जहाजमा ५१ जना यात्रु, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियर गरी कुल ५६ जना सवार थिए।

दुर्घटनालगत्तै एसपी लिम्बुको कमान्डमा खटिएको ७० जनाको प्रहरी टोलीले सबैको सकुशल उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएको थियो।

दुर्घटनामा परी घाइते भएका सात जनामध्ये ६ जना यात्रु सामान्य उपचारपछि घर फर्किएका छन् भने को-पाइलटको उपचार भइरहेको छ।

टाउको र अनुहारमा चोट लागेका ललितपुर-४ निवासी २४ वर्षीय को-पाइलट सुशान्त श्रेष्ठको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सामान्य उपचारपछि ‘डिस्चार्ज’ हुनेहरूमा भद्रपुर-१० का सबिन जोगी (४०), विर्तामोड-७ की प्रेषिका अधिकारी (२०), विर्तामोड-१ की सुमित्रा जोगी (४२), दमक-१ का कमलप्रसाद कटुवाल (२८) तथा काठमाडौं-१६ का मुना घतानी (४०) र प्रिया घतानी (१६) रहेका छन्।

@digitalkhabar.com

भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाज। 💥 #buddhaair #runway #bhadrapur #digitalkhabar #highlightsシ゚

♬ Breaking News – DM Production

You May Also Like

More From Author

+ There are no comments

Add yours