दाउन्नेको जामले घण्टौँ कुर्नु पर्दा रुनु न हाँस्नु बनायो यात्रुलाई

१५ पौष, काठमाडाैँ। बुटवल नारायणघाट सडकखण्ड अन्तर्गत दाउन्नेमा सडक जाम हुँदा हजारौँ यात्रुलाई रुनु कि हाँस्नुको अवस्था बनाएको छ । आइतबारदेखि निरन्तर सडक जाम हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

सवारी साधनको प्रयोग निश्चित प्रयोजनका लागि गरिन्छ । तर सही समयमा पुग्न सकिएन भने त्यो प्रयोजनको औचित्य सकिन्छ । प्रयोग व्यर्थ हुन जान्छ ।

दाउन्नेबाट फोन सम्पर्कमा काठमाडौँबाट बुटवल यात्रारत सयुबा पोखरेलले जामको लाइन नै लामो समयदेखि नसरेको बताइन् । उनले भनिन्, ‘काठमाडौँबाट हिजो साँझ गाडी चढेको आज बिहानै बुटवल पुग्नुपर्ने थियो । यहाँसम्म छिट्टै आइयो । यहाँ घण्टौँ जाममा फसिने भइयो ।’

उनी त प्रतिनिधि यात्रु हुन् । सवारी नै अगाडि नबढेपछि सबै यात्रुको हालत यस्तै हो ।

दाउन्नेमा हुस्सु र कुहिरोका कारण सडक भिजेर चिप्लो भएकाले सडक सञ्चालनमा समस्या भएको छ । त्यसमाथि सडक विस्तारको काम पनि भइरहेको छ ।

यो स्थान सर्वाधिक दुर्घटना हुने क्षेत्र अन्तर्गत पर्दछ ।

यसै त वर्षौंदेखि बुटवल नारायणगढ सडक खण्ड बनिरहँदा निरन्तर यात्रुले सास्ती खेप्नु परिरहेको छ । त्यसमाथि सही सूचनाको अभावमा सवारी घण्टौँ जाममा रोकिनु दुर्भाग्य नै भएको छ ।

सडक एकतर्फी सञ्चालन भइरहे पनि जाम लामो हुँदा लाइन सर्न नै मुस्किल भइरहेको छ । दाउन्ने ट्राफिक कार्यालयका प्रहरी जवान शैलेश पालका अनुसार आइतबारदेखि नै जाम रहेको छ । तर लामो समयदेखि सवारी रोकिएका कारण लाइन भने ढिलाढिला सरेको बताएका छन् ।

अहिलेसम्म ट्राफिकले कुनै पनि विकल्पको प्रयोग गर्न नभनेको गुनासो चालकको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours