२३ मंसिर, काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।
‘जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांगता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि–२०८२ समेत मन्त्रिपरिषदले स्वीकृत गरेको छ।’
सुशासन माग गर्दै भ्रष्टाचारविरूद्ध भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सामाजिक सन्जालका प्लेटफर्महरूमा लगाएको प्रतिबन्धको विरूद्ध देशैभरि जेनजी पुस्ता सडकमा ओर्लेको थियो। त्यही आन्दोलन सुशासन माग गर्ने आन्दोलनमा परिणत पनि भएको थियो। त्यसक्रममा दमन हुँदा धेरैको ज्यान गएको थियो।
दुई दिनको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ।
सोमबारकै मन्त्रिपरिषद बैठकले पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ। एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजक गएको चैत १५ मा भएको तीनकुने घटनामा मारिएका थिए।


+ There are no comments
Add yours