एनपीएलको चौथो खेलमा काठमाडौँ र सुदूरपश्चिम भिड्दै, अहिलेसम्मको लेखाजोखासहित

०३ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा बुधबार एउटामात्र खेल हुँदैछ । आज अपरान्ह चौथो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट मैदानको फ्लड लाइटमा हुनेछ ।

काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हुनेछ भने सुदूरले पहिलो खेल खेल्न लागेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो ।

काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो ।

अंक तालिका

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म काठमाडौँ, चितवन र विराटनगर शतप्रतिशत नतिजासहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । जनकपुर, पोखरा र कर्णाली अंकविहीन छन् । आठौँ टिम लुम्बिनी लायन्सले अहिलेसम्म खेलेको छैन ।

यसअघिका खेलको नतिजाः

तेस्रो खेलमा विराटनगरले पोखरालाई हरायो ५३ रनले

एनपीएलको तेस्रो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अहिलेसम्मकै सर्वाधिक रन जोड्ने क्रममा ६ विकेटको क्षतिमा २२० रन बनायो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा लोकेश बमले ४८ बलमा ७२ तथा मार्टिन गप्टिलले ३५ बलमा ६१ रन जोडे ।

त्यस्तै शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिरअहमदले १३ बलमा २३ रन बनाए । माट टेलरले २ विकेट लिए ।

जवाफमा पोखराले १८ ओभर ५ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो । कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ तथा एडम रोसिङटनले २१ बलमा ३९ रन बनाए ।

विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।

दोस्रो खेलमा चितवनले कर्णालीलाई हरायो

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । दोस्रो संस्करणको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा भएको खेलमा चितवनले १६७ रनको चुनौती ६ विकेटको क्षतिमा १९ ओभर १ बलमा पूरा गरेको हो । रवि बोपाराले ३६ बलमा सर्वाधिक ५२ रन बनाए ।

त्यस्तै दीपक बोहराले ३६ बलमा ४२ तथा सैफ जैबले १६ बलमा ३८ रन बनाए । कप्तान कुशल मल्लले १५ बलमा २० रन जोडे । कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनायो । ओपनिङ ब्याट्सम्यान भारतीय प्रियांक पन्चालले ४८ बलमा ९० रन बनाए । पवन सर्राफले १६ बलमा अविजित रहँदै २७ रन जोडे ।

चितवनका सोइल तन्भिर, सैफ जेब र रवि बोपाराले एक एक विकेट लिए ।

चितवनको नेतृत्व कुशल मल्लले तथा कर्णालीको नेतृत्व सोमपाल कामीले गरेका हुन् ।

पहिलो खेलमा काठमाडौँले हरायो जनकपुरलाई

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो । जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् ।

तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए ।

काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । जवाफमा काठमाडौँले १८ ‌ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours