२० कार्तिक, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर एन्टिबायोटिक औषधिप्रति ब्याक्टेरियाको प्रतिरोध तीव्र रूपमा बढिरहेको भन्दै गम्भीर चेतावनी दिएको छ। ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स सर्भेलेन्स रिपोर्ट–२०२५ का अनुसार, सन् २०२३ मा प्रयोगशालामा परीक्षण गरिएका प्रत्येक पाँच संक्रमणमध्ये एकमा सामान्य एन्टिबायोटिक औषधि काम नगर्ने अवस्था देखिएको छ।
संगठनका अनुसार सन् २०१८ देखि २०२३ सम्मको पाँच वर्षमा रोगजन्य ब्याक्टेरियामा प्रतिरोध दर ४० प्रतिशतभन्दा बढीले वृद्धि पाएको छ। विशेषगरी दक्षिण–पूर्वी एसिया र पूर्वी भूमध्यसागरीय क्षेत्रमा अवस्था अत्यन्तै गम्भीर छ, जहाँ करिब तीनमध्ये एक संक्रमण एन्टिबायोटिकले नियन्त्रण गर्न नसकिने स्तरमा पुगेको छ।
रिपोर्टले ईकोली र क्लेब्सिएला निमोनिया जोडिएका संक्रमणलाई सबैभन्दा जोखिमपूर्ण मानिएको छ। यी ब्याक्टेरियाले रक्तस्राव, सेप्सिस र मृत्युजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छन्। विश्वभर ईकोली सम्बन्धी ४० प्रतिशतभन्दा बढी र क्लेब्सिएला सम्बन्धी ५५ प्रतिशत संक्रमणले उपचारमा प्रयोग हुने प्रमुख एन्टिबायोटिकलाई बेअसर बनाएका छन्।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले एन्टिमाइक्रोबियल प्रतिरोधलाई “आधुनिक औषधिको उपलब्धिमा सबैभन्दा ठूलो चुनौती” भन्दै, औषधिको दुरुपयोग रोक्न स्पष्ट नीति, गुणस्तरीय निदान प्रवर्धन र नयाँ औषधि विकासमा लगानी अनिवार्य रहेको बताए।
नेपालमा भने चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग, कमजोर प्रयोगशाला संरचना र अपर्याप्त निगरानी प्रणालीका कारण जोखिम झनै बढेको स्वास्थ्य विज्ञाहरू बताउँछन्। उनीहरूले औषधि बिक्रीमा कडाइ, प्रतिरोध निगरानी प्रणाली सुदृढीकरण र जनस्तरमा जागरण कार्यक्रम विस्तार गर्न आवश्यक रहेको सुझाएका छन्।
डब्लूएचओले चेतावनी दिएको छ— यदि अहिले नै प्रभावकारी कदम नचालिए, ‘एन्टिबायोटिक–पछिको युग’ सुरु हुनेछ, जहाँ सामान्य संक्रमण पनि प्राणघातक बन्न सक्छन्।


+ There are no comments
Add yours