१५ कात्तिक, एजेन्सी । मंगलबार भारतको दिल्ली सरकारले गरेको क्लाउड सीडिङ (कृत्रिम वर्षा) परीक्षणलाई अत्यन्त महँगो, अस्थायी र अल्पकालीन उपाय भन्दै आलोचना गरेका छन् ।
उनीहरूका अनुसार, कृत्रिम वर्षाले केही घण्टा वा एकदुई दिनका लागि प्रदूषण घटाए पनि त्यसपछि फेरि प्रदूषण बढ्नेछ ।
दिल्लीको वातावरण विभाग र आईआईटी कानपुरबीच भएको सम्झौताअनुसार, क्लाउड सीडिङका लागि करिब ३.२ करोड रुपैयाँ बजेट तोकिएको छ । प्रत्येक परीक्षणमा करिब ६४ लाख भारु खर्च हुन्छ । अहिलेसम्म उत्तर दिल्लीमा तीनपटक परीक्षण गरिएको छ तर कुनै एकचोटि पनि ठूलो वर्षा भएको छैन ।
गत केही दिनदेखि दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ‘अति खराब’ देखि ‘खराब’ स्तरमा घुमिरहेको छ ।
एनुमिता रोयचौधरी, सेन्टर फर सायन्स एन्ड इनभायरनमेन्टका कार्यकारी निर्देशकले भनिन्, ‘क्लाउड सीडिङपछि दिल्लीमा अहिलेसम्म कुनै उल्लेखनीय वर्षा भएको छैन । वर्षा भएर प्रदूषण केही घटे पनि त्यो असर केही घण्टा वा दुई दिनमै हराउँछ ।’
उनले जोड दिँदै भनिन्, ‘यो उपाय दिगो छैन । जाडो यामभरि नियमित रूपमा यो उपाय अपनाउन सकिँदैन । स्रोतमै उत्सर्जन नियन्त्रण गरी प्रदूषण घटाउने उपायमा लगानी गर्नुपर्छ । त्यसले दीर्घकालीन रूपमा जनस्वास्थ्य जोगाउन सहयोग गर्छ ।’
वायुमण्डलीय विज्ञान केन्द्रका सहायक प्राध्यापक शहजाद गनीका अनुसार, ‘जाडोमा दिल्लीको मौसम प्रायः सुक्खा हुन्छ, हावामा धेरै कम आर्द्रता हुन्छ । सामान्यतया वर्षा केवल पश्चिमी वायु प्रणालीका कारण हुन्छ ।’
उनले थपे, ‘पश्चिमी वायु प्रणालीका कारण नै वर्षा हुने अवस्था छ भने क्लाउड सीडिङको कुनै अर्थ हुँदैन । तर, क्लाउड सीडिङका क्रममा अत्यधिक वर्षा भई जनधनको क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?’
‘हामी किन बारम्बार स्मग टावर, स्मग गन र क्लाउड सीडिङ जस्ता ‘चमत्कारी प्रविधि’मा भर पर्छौं ? त्यसको सट्टा विभिन्न क्षेत्रका उत्सर्जन स्रोतहरूलाई व्यवस्थित रूपमा घटाउने नीतिगत सुधारहरू आवश्यक छन् ।’
‘वायु गुणस्तर सुधार गर्नका लागि यातायात, ऊर्जा र निर्माण क्षेत्रमा हुने उत्सर्जन नियन्त्रण गर्नैपर्छ,’ इन्भाइरोक्याटलिस्ट संस्थाका संस्थापक तथा प्रमुख विश्लेषक सुनिल दहिया बताउँछन्, ‘त्यस्तो नगरी कुनै ठोस नतिजा आउँदैन ।’
देखावटी उपायहरूले अल्पकालीन राहत त दिने तर त्यो दिगो समाधान नभएको दहियाको भनाइ छ । यसको सट्टा राज्य र निकायबीचको समन्वित प्रयास चाहिन्छ । त्यस प्रयासले वास्तविक प्रदूषण स्रोतहरूलाई लक्षित गर्ने ‘एयरशेड–आधारित दृष्टिकोण’ अपनाउनुपर्ने उनको भनाइ छ ।
क्लाउड सीडिङ वायुमण्डलमा आद्र्रता कम हुँदा र वर्षा हुने सम्भावना न्यून हुँदा मात्र प्रभावकारी हुने सामाजिक कार्यकर्ता भवरीन कंधारी बताउँछिन् ।
‘स्वच्छ हावा कृत्रिम वर्षाबाट नभई उत्सर्जन घटाउने, धूलो नियन्त्रण गर्ने र जिम्मेवार नीति अपनाउने स्थायी उपायहरूबाट प्राप्त हुन्छ,’ उनले भनिन् ।


+ There are no comments
Add yours