जेनजी आन्दोलनका घाइतेका लागि ४८ लाख रुपैयाँ निकासा

०४ कार्तिक, काठमाडाैँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको भैपरी खर्चबापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत हरेक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न रकम पठाइएको हो ।

पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाण्डाै, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइतेको वर्गीकरणका आधारमा उचित राहत रकम व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गएको असोज १२ गते गरेको थियो । अहिलेसम्म स्वास्थ्य मन्त्रालयले दुई हजार चार सय २९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ ।

गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवम् सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि सरकारले परिचयपत्र वितरण पनि गरेको छ । घाइते व्यक्तिको पुनः उपचारका लागि अस्पतालहरू तोकी जेन–जी क्लिनिक सञ्चालनमा छ ।

अहिलेसम्म एक अर्ब रुपैयाँभन्दा धेरै रकम घाइतेको उपचारमा खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours