जगदीश्वर थापा
०२ कार्तिक, काठमाडौँ।
संसारले “आमा” भन्ने क्षमताको कोखमा केही महिना बास लिएर
जीवन यात्रामा निस्किएको मान्छे म,
जाँदा संसारलाई भनेर जाने इच्छा नै छैन ।
न म आउँदा दुनियाँलाई फरक परेको छ,
न जाँदा फरक पर्छ ।
जीवनका यी बाटाहरू —
कसैको आँसुले भिजेका,
कसैको हाँसोले चम्किएका,
तर मेरा पाइलामा न आँसु टप्किन्छ
न हाँसो टल्किन्छ ।
पवनले कहिल्यै सोध्दैन —
“तिमी कुन दिशातिर जाँदैछौ ?”
सूर्यले पनि म माथी आफ्नो राप रोक्दैन,
मानौं म त केवल
सृष्टिको पुरानो लेखाइको धूलो मात्रै हुँ ।
प्रेम, पीडा, र पर्खाइका शब्दहरू
सबै सुनिँदा पनि मौन छन् —
किनभने म बोल्दा पनि
कसैको अर्थ बदलिँदैन,
कसैको श्वास रोकिन्न ।
शायद यही हो जीवनको सत्य —
जहाँ उपस्थितिको अर्थ
अभावमा हराउँछ,
र अस्तित्व. . .
आफ्नै शून्यतामा पूर्ण हुन्छ ।
म हिँडिरहेको छु, एउटा जुनिदेखी अर्को जुनिसम्म
सुख र दुखको भ्रमका शिलशिला बोकेर
आजभोली न आरम्भको चिन्ता, न अन्त्यको डर,
बस यत्तिमात्र विश्वास छ —
यो यात्राले मलाई
म, मेरो आफ्नै नहुनुमा पनि
पूर्ण अझ सम्पूर्ण बनाइदिएको छ ।
……………….जुनिभरको यात्रा


+ There are no comments
Add yours