राजेन्द्र तिवारी
०१ कार्तिक, काठमाडौँ। तिहारमा विशेष गरेर मखमली, सयपत्री र गोदावरी फूलको प्रयोग गरिन्छ । अरू दिन प्रयोग गर्न हुँदैन भनिने मखमली फूल तिहारमा मात्रै प्रयोग गरिन्छ । आखिर चाडवाड र फूलको सम्बन्ध के छ ? तिहारमा यी तीन फूलहरू मात्र प्रयोग गरिनुको कारण के हो ?
यसबारेमा हामीले संस्कृतिविद् प्रा.डा.देवमणि भट्टराईसँग कुराकानी गरेका थियौँ । उनका अनुसार यी तीनै फूल यस मौसममा फूल्ने भएकाले पनि तिहारको बेला यिनीहरूको प्रयोग गरिन्छ । यस प्राकृतिक सम्बन्धका साथै फूलहरूको धार्मिक र सांस्कृतिक अर्थ पनि छ । यी तीनै फूलले हाम्रो सृष्टिलाई प्रतिबिम्बित गर्छन् । साथसाथै, चेली र माइतीबिचको सम्बन्धलाई पनि संकेत गर्छन् ।

सयपत्री फूलले विस्तारता, व्यापकतालाई चित्रण गर्दछ । सयपत्रीको एउटै थुङ्गामा सयौँ पत्र हुन्छन् र हरेक पत्र एउटा छुट्टै थुङ्गासरह हुन्छ त्यसैले भगवान् पुज्दा फूल च्यात्नु हुँदैन भने पनि सयपत्रीलाई च्यात्दा त्यसको महत्त्व घट्दैन । फेरि सानो जमिनमा पनि फैलिने भएकाले सयपत्रीलाई उत्पादनशीलता र व्यापकतासँग जोडिन्छ । चेली र माइतीबिच यस्तै व्यापक सम्बन्ध होस् भन्दै सयपत्रीको माला लगाइदिने हो । र, सृष्टिको व्यापकताप्रति सराहना व्यक्त गर्दै काग, कुकुर, लक्ष्मी लगायतलाई सयपत्रीले पूजा गरिन्छ ।
त्यस्तै, मखमली फूलले स्थायीत्त्वलाई संकेत गर्दछ । मखमली फूल कहिल्यै ओइलाउँदैन । त्यसैले माइती र चेलीबिचको सम्बन्ध पनि त्यस्तै सदाबहार होस् भन्दै भाइटिकामा यस फूलको प्रयोग गरिन्छ । र, हाम्रो सृष्टि, प्रकृतिको स्थायित्वलाई सम्मान गर्दै तिहारमा काग, कुकुर, लक्ष्मी लगायत अन्यलाई मखमली फूलले पूजा गरिन्छ ।
अन्त्यमा, गोदावरी फूलले संवेदनशीलतालाई प्रतिबिम्बित गर्दछ । हाम्रो बोली व्यवहारले कसैलाई चोट नपु-याओस्, हामीले जानीजानी कसैलाई हानी गर्नुहुँदैन र संसारका हरेक वस्तु नाशवान हुन् भन्ने कुरा बोध गराउँछ गोदावरीले ।



+ There are no comments
Add yours