२८ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ।
यस क्रममा आज (असोज २८, मंगलबार) उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले नेपालखबरलाई जानकारी दिएका छन्।
‘यो अहिले बिहान ५:४५ बजेको मापन हो’, ती मौसमविद्ले भने, ‘आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे पुन मापन हुन्छ। त्यतिबेला थोरै अझ घट्न पनि सक्छ। अथवा यत्ति नै रहन पनि सक्छ। तर यसभन्दा बढ्ने सम्भावना हुँदैन।’
९ दिनअघि असोज २० गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर रहेको उपत्यकाको न्यूनतम तापक्रम त्यसयता लगातार घट्दै असोज २३ मा १७.४, असोज २४ मा १५.६, असोज २५ मा १४.५, असोज २६ मा १३.३, असोज २७ मा १३ डिग्री सेल्सियसमा झरेको थियो।
त्यसबाट पनि घटेर आज असोज २८ गते १२.५ डिग्री सेल्सियसमा ओर्लिएको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।


+ There are no comments
Add yours