२० असोज, बुटवल । नेपाल वायुसेवा निगमको जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ यात्रुलाई लिएर चार्टर्ड फ्लाइटमार्फत काठमाडौं प्रस्थान गरेको छ । भारी वर्षाका कारण सडक यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रुका लागि आइतबार राति तय भएको भैरहवा-काठमाडौं उडान अन्तिम समयमा तयारी अपुग भएकाले स्थगित भएको थियो ।
उक्त उडान सोमबार दिउँसो २:४५ बजेका लागि तय गरिएकोमा तीन घन्टा ढिलो भएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणसँग आइतबार साँझ ७:१५ देखि ९:४५ बजेसम्म काठमाडौं-भैरहवा र भैरहवा–काठमाडौं उडानका लागि विमान नम्बर ए ३०२ को अनुमति लिएको थियो ।
निगमले काठमाडौं-भैरहवा रुटमा ५,००० र भैरहवा–काठमाडौं रुटमा ७,००० भाडा तोकेको थियो । राति काठमाडौं पुग्नुपर्ने बाध्यता भएका, उपचारका लागि जानुपर्ने बिरामी, अध्ययन वा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु र पर्यटकलाई प्राथमिकता दिइएको छ ।


+ There are no comments
Add yours