देशभर बाढीको जोखिम : नदीहरूमा बहाव बढ्ने, यात्रा गर्नूअघि जानकारी दिनुहोस्

१८ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि देशका विभिन्न भागमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नदीहरूमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार शनिबार दिउँसोसम्म प्रमुख नदीहरूको अवस्था सामान्य रहे पनि त्यसपछि भने बहाव बढ्न सुरु हुनेछ ।

शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरूमा बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।

आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने पराजुलीले जानकारी दिए ।

आइतबार रातिदेखि यो प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने भएकाले कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने विभागको भनाइ छ ।

विभागले उल्लेखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नदी किनारका बासिन्दा, तटीय क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन र मौसम पूर्वानुमानबारे अद्यावधिक रहन सुझाव दिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours