विजयको र्‍यालीमा भागदौड: ४० जनाको मृत्युपछि तीन सहयोगीमाथि आपराधिक मुद्दा

प्रत्येक पीडित परिवारलाई २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने विजयको घोषणा

१३ असाेज, काठमाडौँ । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍याली मा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि आइतबार उनका तीन नजिकका सहयोगीमाथि प्रहरीले आपराधिक हत्या र लापरवाही को आरोपमा मुद्दा दर्ता गरेको छ। मृत्यु हुनेमा नौ जना बालबालिका समेत रहेको वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलले पुष्टि गरेका छन्।

शनिबार तमिलनाडु राज्यको करुर जिल्लामा विजयलाई हेर्न करिब २७ हजार मानिस भेला भएका थिए। आयोजकले १० हजार मानिस आउने अनुमान गरे पनि अनुमानभन्दा झन्डै तीन गुणा बढी भिड आएपछि त्रास फैलियो र घातक दुर्घटना भयो। राज्य प्रहरी प्रमुख जी. वेङ्कटरमनका अनुसार, मानिसहरू बिहान ११ बजेदेखि जम्मा भए पनि विजय साँझ ७:४० मा मात्र कार्यक्रममा पुगेका थिए, जसले गर्दा दर्शकहरूले तातो घाममा खाना र पानीको अभावमा घण्टौँ पर्खनुपर्‍यो।

प्रत्यक्षदर्शीहरूले अपर्याप्त प्रहरी उपस्थिति, खराब सङ्गठन र रूखमा चढेका केही मानिस खसेपछि आतङ्क फैलिएको कारण दुर्घटना भएको बताएका छन्। यसै सन्दर्भमा प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध मुद्दा दर्ता गरेको छ। वरिष्ठ प्रहरी अधिकारी एस. डेभिडसन देवसिरवथमले अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्ने बताएका छन्।

अभिनेता विजयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन्। उनले भने, “मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन। यो अपूरणीय क्षति हो।” उनले प्रत्येक पीडित परिवारलाई २० लाख भारतीय रुपैयाँ (करिब २२ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेका छन्। भीड अनियन्त्रित बनेपछि विजयले आफ्नो भाषण रोक्नुपरेको थियो।

भारतमा ठूलो जमघट र कमजोर भीड नियन्त्रणका कारण यस प्रकारका दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। विजयले सन् २०२४ मा आफ्नै पार्टी स्थापना गरेपछि उनका कार्यक्रमहरूमा ठूलो भिड जुट्ने गरेको छ, जसले गर्दा आगामी सन् २०२६ मा हुने तमिलनाडु राज्य चुनावलाई लक्षित गरेर आयोजना गरिने कार्यक्रमहरूको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours