दशैँ, तिहार, छठजस्ता चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने
१२ असाेज, काठमाडौँ । नेपाल प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन का क्रममा देशभरका कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी गरिरहेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार, आन्दोलनका क्रममा भागेकामध्ये आठ हजार जना कैदी फर्किएका छन् भने छ हजार अझै फरार छन्। दशैँ, तिहार, छठजस्ता चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने भन्दै उनले नागरिकहरूलाई सुरक्षाका मामलामा सतर्कता अपनाउन अनुरोध गरेका छन्।
प्रवक्ता घिमिरेले भागेका कैदीहरूमा चोरडाकाहरू र मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिन सक्ने व्यक्तिहरू रहेको बताएका छन्। उनले सम्भावित घटना घटाउन सक्ने यस्ता व्यक्तिहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको र प्रहरी निकै चनाखो अवस्थामा रहेको जानकारी दिए।
उनले भागेकामध्ये केही कैदीहरू प्रहरीको सम्पर्कमा रहे पनि आपराधिक मानसिकता भएकाहरूले गाउँमा बदलाको भावना लिन सक्ने भएकाले प्रहरीले उच्च निगरानी गरिरहेको बताए। प्रहरीले भागेका कैदीबन्दीका बारेमा कुनै सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा जानकारी दिनसमेत नागरिकहरूलाई आग्रह गरेको छ।
यसैबीच, कारागार व्यवस्थापन विभागले ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ।
भागेका कतिपय कैदीबन्दीलाई भारतीय प्रहरीले भारत भाग्न लागेको अवस्थामा पक्राउ गरेर फिर्ता गरेका छन्। त्यसैगरी, केहीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदीहरू भने आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताएका छन्। उनले भागेका कैदीबन्दीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने चेतावनी दिएका छन्।


+ There are no comments
Add yours