१० असाेज, काठमाडौँ । मीठो खाने र राम्रो लाउने रहर सबैमा हुन्छ तर धेरै युवा विदेश छन् । तर, यहाँका युवा जेन–जीले यसपालि छिट्टै सत्ता ढाले । प्रहरी बिटको पुनस्र्थापना र प्रहरीको भरणपोषणका लागि घरघरमै रकम उठाइँदै छ अहिले । यतिसम्म निकृष्ट चाला पहिले थिएन, सबै काम नयाँ र नौलो हुँदैछ देशमा ।
दसैंको पूर्वसन्ध्यामा यसपालिको वर्षामा विपत्का घटनाबाट २ सय ४३ को मरण, ८ सय ६९ जना घाइते २४ जना बेपत्ताको सूची भर्खरै प्रकाशित गरेको छ । विपत् न्यूनीकरण प्राधिकरणले र सबैजसो प्रशासनका केन्द्रीय निकायहरू पालमुनि पुगेका छन् र सर्वोच्च अदालत आफैं पालमुनि मुद्दा छिन्दैछ । जेन–जी आन्दोलनका क्रममा करिब ७५ को ज्यान गएको छ यही भदौको अन्तिम सातामा । देश रोइरहँदा दसैं आएको छ ।
पूर्वीय धर्मदर्शनमा चार नवरात्रि– माघशुक्ल, चैत्रशुक्ल, आषाढ शुक्ल र आश्विन शुक्लपक्षका नवरात्रिमध्ये शारदीय रात्रिका रूपमा देखिने आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष रूपमा मानिन्छ । शक्ति उपासनाको यो नवरात्रिको पहिलो आकर्षण हो, ‘घटस्थापना’ । दियो, कलश, गणेश आदि र १० दिनसम्म आवश्यक विशेष सरसामग्री तयार पारिन्छ । घडामाथि अष्टदल, श्रीयन्त्र लेखी नवदुर्गा स्थापना गरी विशेष पूजा गरिने देवीका तीन मूलस्वरूप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन् । सृष्टिको उषाकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति वन्दना गरिएकी देवी सर्वकल्याणमयीका रूपमा चिनिन्छिन् र उनलाई भुवनेश्वरी भनिन्छ । मणिद्वीप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिकापुराण, दुर्गासप्तशती आदिमा गरिएको छ ।
घटस्थापनामा प्रयोग हुने जौ अन्नको सर्वाधिक शक्तिशाली छ । जौमा पोषणतŒव रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको कुरा वैज्ञानिक पुष्टि भएको छ । गाईको गोबर पवित्र मानिन्छ, यसमा रोगका कीटाणुहरू बस्न सक्दैनन् । माटाको घडामा गोबर टाँसी जौ रोप्ने र त्यसरी उमारिएको जौको जमरा शिरमा ग्रहण गर्नाले मनमस्तिष्क स्वच्छ, पवित्र भई आशीर्वाद योग्य हुन्छ । जौको जमरा, मालाबाट देवी प्रसन्न हुने र इच्छासिद्धिको वरदान दिन सकिन्छ । फूलपातीमा बढाइँसमेत हुँदै महाअष्टमी सुरु हुने र यसपछि दसैंको उत्कर्ष सुरु हुन्छ । महाअष्टमीका दिन पूजा गरिने देवी हुन् महागौरी ! यसदिन घरघरमा पशुपक्षीको बलि दिने पनि चलन छ विशेष शक्तिपीठहरूमा ।

सात्विकपूजामा संलग्न व्यक्तिहरूले पशुबलि नदिई कुभिण्डो अथवा बेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा छ । शाकाहारीले मुला, घिरौंला, कुभिण्डो, नरिबल, बेल आदि अर्पण गरेर बलिको पूर्णता गर्छन् । महाअष्टमीका दिन दसैंकोठामा शुद्ध आसन, पूजासामग्री तयार गरी पायस, फलपूmल, वस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मंगला, काली आदि देवीका विशेष नामोच्चारण गर्दै देवीको वन्दना गरिन्छ । अष्टमातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा हुन्छ । अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि छ । कालरात्रि गरी पूजा गर्दैै भोलिपल्ट महानवमीका दिन बिहान सयौं राँगाहरूको वलि दिने चलन रहेको छ, हनुमान ढोकामा । राँगालाई महिषासुरको रूप मानिन्छ । अघि महामाया देवीप्रति दानवहरू मोहित भएछन् । शुम्भ, निशुम्भ आदिले देवीप्रति बिहेको प्रस्ताव राखेछन् । दानवसंहारको क्रममा रहेकी देवीले यसै मौकामा युद्धमा विजय गर्नेसँग बिहे गर्ने मेरो संकल्प छ भन्ने प्रस्ताव राखेकीले सबैजसो दानव युद्धमा होमिँदै आफू अन्त्य भएछन्, कोही भागेछन् ।
देवीको अर्को नाम मोहिनी पनि हो सबैलाई मोहित पारी असुर वध गरेको सम्झनास्वरूप महाअष्टमी, महानवमीमा खासगरी शुभ विजयोत्सवको रूपमा मान्ने चलन छ । महिषासुर नामक राक्षस राँगोको रूप लिई युद्ध गर्न आएको र उसलाई पनि देवीले सखाप पारिदिएको सम्झनामा राँगाको बलि दिने र पशुपक्षीको रगत देवीलाई अर्पण गर्ने गरिएको हो । बडादसैंको उत्कृष्ट चाडको रूपमा घरघरको जमरा कोठामा विशेष पूजा, बलि दिने चलनअनुसार पूजा सम्पन्न गर्दैै अष्टमी, नवमीका दिन सुविधाअनुसार घर, कार्यालयमा रहेका सवारीसाधनहरूको विशेष पूजा एवं बलि दिने गरिन्छ । अष्टमीको अर्को पक्ष छ तलेजु भवानीको विशेष पूजा ! भक्तपुरस्थित तलेजु मन्दिरमा यसदिन विशेष पूजा हुन्छ । दुर्गाको रूपमा पूजा गरिने यी देवीलाई ८४ प्रकारका नैवेद्य चढाई विजयादशमीका दिन प्रसाद ग्रहण गर्ने चलन छ । महाअष्टमीकै दिन काठमाडौंको तलेजुमन्दिर पनि सबैका लागि खुल्ला हुने गरेको हो पहिलेदेखि नै ।
शास्त्रहरू प्रतीकात्मक हुन्छन् । सप्तशतीमा वर्णित रक्तबीज मानवमा भएको रक्तदोष हो । रक्तचाप, अनेकौं विकार, कुण्ठा र वैमनस्यता एकपछि अर्को बढ्दै जान्छन् । शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो । महिषासुर शरीरको बडप्पन हो, चण्ड र मुण्ड मानिसका आवेग, तनावहरू हुन् । धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, ईष्र्या, वैमनस्यता हटेर जान्छन् । आसुरी प्रवृत्तिहरू हट्छन् । यी सबैको बलिदान साँचो बलिदान हो । बलिदान भन्नाले त्याग हो, क्रोध, आवेग, तनाव, चिन्तारूपी बोको बुद्धिको बलिदान हो, दुर्बुद्धिको बलिदान हो । मानवमा भएका ती दुर्बलताहरूलाई बलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो । देवी संसारकै आमा भएकीले कुनै जीवहरू काखमा राखेर हत्या गर्न कुनै आमाले स्वीकार गर्दिनन् । घरघर वा शक्तिपीठहरूमा बलिदान गर्नुपर्ने हिंसा र क्रोध नै हो । अष्टमी, नवमीको संकेतले जीवनको ८०, ९० वर्षको संकेत गर्छ ।

जीवनमा बाँकी रहेका सबै आसुरी भावको बलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो । कन्यापूजा आदि पनि प्रायः यसै दिन गरिन्छ । जमरा कोठामा भगवती सिद्धिदाताको विशेष पूजा गरी सम्पूर्ण रूपमा सिद्धि प्राप्ति होस् भन्ने प्रार्थना गर्दै भोलिपल्ट सर्वत्र विजयको शुभकामना आशीर्वाद प्रदान गर्ने शक्ति प्राप्त गर्ने प्रयास गरिन्छ । दशमीमा भने टीकाप्रसाद वितरण गरिन्छ । हामीकहाँ कतै दशमीका दिन मात्रै र धेरैजसो स्थानमा टीका वितरण पूर्णिमासम्म गरिन्छ, जसलाई कोजाग्रत पूर्णिमा भनिन्छ र जमरा यसै दिन सेलाइन्छ । हाम्रो धर्म दर्शन आशीर्वादमा आधारित छ, अग्रजको आशीर्वाद अनुजलाई जरुरी हुन्छ नै । आशीर्वादले उत्साह प्राप्त हुन्छ दसैं भनेको उत्साह नै हो, ऊर्जा नै हो ।


+ There are no comments
Add yours