फ्लड लाइट बालेर तुइनखोलाको पहिरो पन्छाइँदै, सडक आजै रातिदेखि खुल्ने

०९ असोज, काठमाडौं । फ्लड लाइट जडान गरेर तुइनखोला नजिकै गएको सुक्खा पहिरो पन्छाउने काम भइरहेको छ ।

पूर्ण रूपमा पहिरो हटाएर आजै रातिदेखि आवागमन सञ्चालन गर्ने तयारी स्वरूप फ्लड लाइट बालेर पहिरो पन्छाउने कामलाई निरन्तरता दिइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘फ्लड लाइट बालेर पहिरो पन्छाउने काम भइरहेको छ । सम्भवतः एक डेढ घण्टामा सडक सञ्चालनमा आउने छ ।’

उनका अनुसार पहिरो पन्छाउन ६ वटा उपकरण प्रयोग भइरहेको छ । मुग्लिन खण्डतर्फबाट ३ वटा र नारायणगढतर्फबाट ३ वटा उपकरणले पहिरो पन्छाउने काम भइरहेको हो ।

आज रातदेखि दुईतर्फी नै सवारी चलाउन मिल्ने गरी काम भइरहेको सडक विभागका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै मंगलबार अपरान्ह भयंकर सुक्खा पहिरो खसेको थियो । जसका कारण सडक अवरुद्ध छ ।

सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि चितवन प्रशासनले वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ भने अलपत्र परेका यात्रुहरूलाई बसको व्यवस्था गरेर उद्धार गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours